अमेरिकामा डडेलोको बितण्डा: मृत्यु हुनेको सङ्ख्या आठ, दर्जनौँ सम्पर्क बिहिन
एजेन्सी- संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
स्थानीय समय अनुसार शुक्रबार साँझ अरेगोनका गभर्नर केट ब्राउनले भने, ‘उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेका छन् । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।’
राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए । अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।
अधिकारीहरूले डढेलोका कारण मृत्यु भएका व्यक्तिको एकीन विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् ।
उपनगरीय इलाका तथा ओरेगोनको अति घना वस्तीहरूमा ती दुई विशाल डढेलो मिसिने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।
ब्राउनले भने, ‘डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ भने करिब पाँचलाख व्यक्तिलाई सुरक्षित स्थलमा सानुपर्ने सम्भावना रहेको भन्दै सबैलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।’
मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ ।