अमेरिकामा किन यस्तो भैरहेको छ, के आमहत्याको युग सुरू भएकै हो ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अमेरिकामा किन यस्तो भैरहेको छ, के आमहत्याको युग सुरू भएकै हो ?



वासिंगटन- अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बनेको अनुसन्धानकर्ताको एक तथ्यांकले देखाएको छ ।

एसोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै ४१ वटा आम हत्याकाण्ड भएका छन् । यी हत्याकाण्डमा २ सय ११ जनाको मृत्यु भएको छ ।

हत्या गर्ने मानिस स्वयंको निधनबाहेक चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहार मानिएको छ । सन् २०१९ मा भर्जिनिया र एलपासोमा सबैभन्दा बढी सर्वसाधारण मारिएका छन् ।

गत मे महिनामा भर्जिनियामा भएको गोलीकाण्डमा १२ जनाको मृत्यु भएको थियो भने अगष्टमा एल पासोमा भएको गोलीकाण्डमा २२ जना मारिएका थिए ।

सन् २०१९ मा भएका ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । सन् २०१९ मा क्यालिफोर्नियामा सबैभन्दा धेरै ८ वटा आमहत्याका घटना भएका छन् ।

सन् १९७० सम्मको तथ्यांक हेर्दा सन् २०१९ भन्दा बढी हत्याकाण्ड भएको नपाइएको एपीले जनाएको छ ।

सन् २००६ दोस्रो धेरै आमहत्या भएको वर्ष थियो । सो ३८ वटा त्यस्ता हत्याकाण्ड भएका थिए ।

सबभन्दा धेरै हत्याकाण्ड सन् २०१९ मा भएपनि सन् २०१७ मा सबैभन्दा बढीको हत्याकाण्डमा मृत्यु भएको थियो । सो वर्ष भएका हत्याकाण्डमा २ सय २४ जनाको ज्यान गएको थियो ।

त्यो वर्ष लस भेगासमा भएको एउटा समारोहमा भएको आम नरसंहारमा ५९ जनाको ज्यान गएको थियो ।

अनुसन्धानकर्ताहरू भन्छन्, ‘अमेरिकामा भएका यस्ता कैयौं आम नरसंहारमा पारिवारिक कलह, लागु औषध सम्बन्धी काण्ड वा गुन्डाहरूको समूह संलग्न हुने गरेकाले कैयौं घटना अखबारहरूको शीर्ष समाचार बन्न सक्दैनन् ।’

अपराधशास्त्री तथा मेट्रोपोलिटन स्टेट युनिभर्सिटी इन मिनेसोटाका प्रोफेशर जेम्स डेन्सलीले कुल मानव हत्याको संख्या घटेको भएपनि आम नरसंहार काण्डको संख्या भने बढेको बताए । उनले भने, ‘यस्ता आम नरसंहारले पनि मृत्यु हुनेको संख्या बढाएको छ ।’

अहिले आम हत्याको संख्या बढ्नु आंशिक रूपमा अमेरिकामा आक्रोशपूर्ण र निराशाजनक समयले गर्दा भएको हो र यस्ता अपराध लहरका रूपमा आउने जाने गर्ने उनको विश्वास छ । उनले भने, ‘यो आमहत्याको युग जस्तो देखिएको छ ।’ बन्दुक राख्न पाउने अधिकार अमेरिकाको संविधानको दोसं्रो संशोधनमा व्यवस्था गरिएको छ ।

अमेरिकामा वैधानिक रुपमा राखिएका बन्दुकहरुबाट आम हत्याहरू भएपनि अमेरिकी कानुन निर्माताहरूबीच बन्दुक नियन्त्रणमा सुधार ल्याउनेबारे कम छलफल हुने गरेको छ ।

अगष्टमा डेटन, ओहायो र एल पासो टेक्सासमा भएका घातक आक्रमणपछि राष्ट्रपति डोनल्ड ट्रम्पले कंग्रेसका नेताहरूबीच गम्भीर छलफल हुने र बन्दुक राख्नेहरूको पृष्ठभूमिको अर्थपूर्ण परीक्षण गरिने बताएका थिए ।

तर ट्रम्पले बिस्तारै त्यो प्रतिवद्धता छोडेको र त्यसो हुनुमा नेशनल राइफल एशोशियशनका प्रमुख कार्यकारी वायन लापीएरेसँग भएको उनको लामो टेलिफोन वार्ता कारक रहेको बताइने गरेको छ ।

सो टेलिफोनवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पृष्ठभूमि जाँच भइरहेको र आम हत्या मानसिक समस्याका कारण हुने गरेको बताएका थिए । उच्च नेतृत्वमा रहेका डेमोक्रेटहरूले बन्दुक नियन्त्रणका लागि कठोर उपायहरू अवलम्बन गर्न आग्रह गर्दै आएका छन् ।

यसै महिनाको सुरुतिर राष्ट्रपतिका उम्मेददार तथा पूर्व उपराष्ट्रपति जोए बिडेनले स्यान्डी हुक स्कूल गोलीकाण्डको सातौं वार्षिकीका अवसरमा बोल्दै बन्दुक नियन्त्रणका लागि कडा नियम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

बिडेनको योजनामा सबै हतियार उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाउने र सबै बन्दुक बिक्रीको पृष्ठभूमि परीक्षण गर्नु अनिवार्य बनाइने उल्लेख छ ।

अर्की ड्रेमोक्रेटिक पार्टीकी सम्भावित उम्मेदार एलिजाबेथ वारेनले यो वर्षको सुरुतिर नियम र कारवाही बलियो बनाएर बन्दुकका कारण हुने हत्या ८० प्रतिशतले घटाउने योजना अगाडि सारेकी थिइन् ।