रोकिएन अमेरिकामा मृत्युको ताण्डव: कहाँ कतिले गुमाए ज्यान ? - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

रोकिएन अमेरिकामा मृत्युको ताण्डव: कहाँ कतिले गुमाए ज्यान ?



काठमाडौं- प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले पछिल्लो समय सबैभन्दा बढी अमेरिकालाई आक्रान्त बनाएको छ । कोराना संक्रमणबाट हालसम्म अमेरिकामा २६ हजार बढीले ज्यान गुमाउनु परेको छ ।

कोरोनाबाट अमेरिकामा अहिलेसम्म २६ हजार ९४५ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा मंगलबार एकै दिन २४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो आंकडा आकाशिएको हो ।
अमेरिकामा संक्रमितको संख्या पनि ६ लाख १३ हजार नाघेको छ ।

सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८३४ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या दुई लाख नाघेको छ । इपिसेन्टर मानिएको न्यूयोर्कमा मंगलबार मात्र थप ७७८ जनाको ज्यान गएको छ ।

अमेरिकामा पछिल्ला केही दिनयता दैनिकजसो २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । मंगलबार मात्रै करिब २७ हजार नयाँ बिरामी थपिएका हुन् । न्यूजर्सीमा २८ सयभन्दा बढी, मिसिगनमा १७ सय ६८, लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको खबर छ ।

अमेरिकामा ठूलो संख्यामा मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मर्नेको संख्या एक लाख २६ हजार ५ सय नाघेको छ । संक्रमितको संख्या करिब २० लाख अर्थात् १९ लाख ९७ हजार ६२० पुगेको छ । संक्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

यस्तै १३ लाख ९८ हजारको उपचार भइरहेको छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो ।

त्यहाँ संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ । स्पेनमा १८ हजार २५५ जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु हुँदा एक लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने १२ हजार नाघे

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको हो ।

त्यहाँ संक्रमितको संख्या पनि ९३ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ७७८ जनाको मृत्यु भएको छ । अघिल्लो दिनका तुलनामा त्यहाँ फेरि मृतक बढेका हुन् । अघिल्लो दिन ७१७ जनाको मृत्यु भएको थियो ।

सबैभन्दा बढी लण्डन शहरमा मानिसको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म २ हजार ८६५ जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी संक्रमित छन् । सामाजिक दूरी कायम गर्ने नीतिले निकै राम्रो परिणाम दिएको भन्दै विज्ञहरुले यसलाई निरन्तरता दिन सुझाएका छन् । नयाँ संक्रमित ५२ सयभन्दा बढी थपिएका छन् ।