अमेरिकाले विदेशी विद्यार्थीहरूलाई यसरी निकाल्दैछ - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अमेरिकाले विदेशी विद्यार्थीहरूलाई यसरी निकाल्दैछ



एजेन्सी- अमेरिकाले विदेशी विद्यार्थीहरूलाई निकाल्ने तयारी गरेको छ । अमेरिकाको इम्मिग्रेसन यन्ड कस्टम्स इनफोर्समेन्टले सोमवार विदेशी विद्यार्थीहरूलाई निकाल्ने तयारी भएको घोषणा गरेको छ ।

अमेरिकामा उच्च शिक्षा हासिल गरिरहेका अन्य देशका विद्यार्थीहरूको विश्वविद्यालयले अनलाईन कोर्स मात्र पढाउने हो भने उनीहरूले कि त देश छोड्नुपर्ने कि त सुपुर्दगीको जोखिम मोल्नुपर्ने भएको छ ।

यस कदमले अमेरिकामा विश्वविद्यालय पढ्न आएका वा तालिम कार्यक्रममा आएका हजारौं विदेशी विद्यार्थीलाई असर पार्न सक्छ ।

अहिले अमेरिकाका विभिन्न विश्वविद्यालयहरूले कोरोनाभाइरस महाव्याधिका कारण अन्लाइन कोर्स गराउने निर्णय लिन थालेका छन् । हार्वर्ड विश्वविद्यालयमा सबै कोर्सहरू अन्लाइनमै राखिएको छ । त्यसको अर्थ हुन्छ, विदेशी विद्यार्थीले अमेरिका छोड्नुपर्ने हुन्छ ।

‘अत्यन्तै अनिश्चितता छ । साह्रै दिक्कलाग्दो । म मेक्सिको जानुपर्‍यो भने त जान सकुँला तर कतिपय विदेशी विद्यार्थी त सक्दैनन्,’ हार्वर्डको केनेडी स्कूल अफ गभर्नमेन्टकी ग्राजुएट विद्यार्थी भ्यालेरिया मेन्डिओलाले बताए ।

सोमवार एक प्रेस वक्तव्य निकालेर आईसीईले निश्चित भिसा लिएका विद्यार्थीले अन्लाइनमा कोर्स लिएर अमेरिकामा बसिरहनुपर्दैन भन्यो । ‘फल सेमेस्टरमा पूर्ण अन्लाइन क्लास हुने प्रोग्रामका लागि अमेरिकाले भिसा जारी गर्ने छैन अनि यूएस कस्टम्स यान्ड बोर्डर प्रोटेक्सन पर्मिटले यी विद्यार्थीहरूलाई अमेरिका प्रवेश गर्न समेत दिने छैन ।’

अहिले अमेरिकामा भएका विद्यार्थीहरूले अन्य उपाय अपनाउन उक्त एजेन्सीले सुझाव दिएको छ । जस्तो, अध्यापकले आमनेसामने भएर पढाउने क्याम्पसमा उनीहरू सर्न सक्छन् । अनि अन्लाइन र भौतिक कक्षा दुवै सञ्चालन गर्ने विश्वविद्यालयहरूका लागि त्यसमा छुटको व्यवस्था छ ।