अन्ततः अमेरिकामा लाग्यो संकटकाल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अन्ततः अमेरिकामा लाग्यो संकटकाल



एजेन्सी

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै उनले देशमा संकटकाल घोषणा गरेको जनाएका हुन् । गम्भीर राष्ट्रिय संकटसँग जुध्न अमेरिकामा रष्ट्रिय संकटकालसम्बन्धी ऐन बनाइएको हो। मेक्सिकोसंग सीमा जोडिएको क्षेत्रमा पर्खाल बनाउन संसदले बजेट उपलब्ध गराउन अस्वीकार गरिदिएपछि ट्रम्पले संकटकाल घोषणा गरेका हुन् ।

अब राष्ट्रिय संकटकालको घोषणा गरेपछि राष्ट्रपति ट्रम्पलाई विशेष शक्ति प्राप्त हुन्छ जसले उनलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सिमाना पर्खाल बनाउन प्राप्त हुन सक्छ।

विगतमा अमेरिकी राष्ट्रपतिहरूले राष्ट्रिय संकटकालको प्रयोग खासगरि विदेश मामिलामा आइपरेका संकटसँग जुध्न गरेका थिए। उदाहरणका लागि आतंकवादसँग मुछिएका संस्थाहरूलाई उपलब्ध स्रोत रोकिदिन वा मानव अधिकार उल्लंघनमा मुछिएका देशहरूमा लगानी रोकिदिन।

तर ट्रम्पले देशभित्रै राजनीतिक रूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत रहेको संसद छल्न सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको देखिन्छ।

विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपतिको घोषणालाई शक्तिको दूरूपयोग भनेका छन्। ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए।

तर अमेरिकी संसद कङ्ग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने भनेपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट पैसा जोहो गर्न भन्दै यस्तो कदम चालेका हुन्।

ह्वाइट हाउसको रोज गार्डेनमा उक्त घोषणा गर्दै ट्रम्पले संकटकालीन अवस्थाले सीमा पर्खालका लागि ८ अर्ब डलर प्रदान गर्ने बताए।

उक्त रकम सैन्य निर्माणका काम र लागुऔसध तस्करीसँग जुझ्ने प्रयासहरुलाई छुट्याइएको बजेटबाट काटेर पर्खाल निर्माणमा लगाइनेछ।

यद्यपि त्यो झण्डै ३ हजार २ सय किलोमिटर लामो पर्खाल निर्माणका लागि चाहिने भनिएको कूल २३ अर्ब डलरभन्दा निकै कम रकम हुनेछ।