अमेरिकाले नेपाललाई दियो हालसम्मकै ठुलो अनुदान - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

अमेरिकाले नेपाललाई दियो हालसम्मकै ठुलो अनुदान



काठमाडौं- अमेरिकाले नेपाललाई हालसम्मकै ठुलो अनुदान दिने भएको छ । बिहिबार भएको सम्झौता अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भन्दा ठूलो राशिको अनुदान दिने भएको हो।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) र अर्थ मन्त्रालयबीच झण्डै रु.८० अर्बको अनुदान सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ। पाँच वर्षभित्र खर्च गर्ने गरी यूएसएडले नेपाललाई ६५९ मिलियन डलर (करीब रु.७९ अर्ब ७१ करोड) बराबरको अनुदान सहयोग दिन लागेको हो।

अमेरिकाले नेपाललाई मध्यम आय भएको मुलुकका रूपमा स्तरोन्नतिका लागि सघाउन यो सहयोग दिन लागेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले यसअघि नेपाललाई एमसीसी परियोजना अन्तर्गत ५०० मिलियन डलर (करीब रु.६० अर्ब) सहयोग गर्ने सम्झौता नेपालको संसद्ले विवादबीच अनुमोदन गरेको थियो।

नेपाल सरकार, नागरिक समाज, निजी क्षेत्रसँग मिलेर नेपालको दिगो विकास लक्ष्य हासिल गर्न तथा लोकतान्त्रिक शासन, उद्यमशीलता केन्द्रित आर्थिक वृद्धि र जलवायु परिवर्तन सिर्जित प्रकोपसँग जुध्न यो सहयोग रकम परिचालन गरिनेछ। यो सहयोग रकम नेपाल सरकारको रातो किताबमा उल्लेख भएर पारदर्शी रूपमा खर्च गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यूएसएडले विगतदेखि नै निरन्तर रूपमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।