अमेरिकाले भन्यो: एमसीसीको विरोधका नाममा हिंसा स्वीकार्य छैन - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

अमेरिकाले भन्यो: एमसीसीको विरोधका नाममा हिंसा स्वीकार्य छैन



नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ।

एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो।

शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए। एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि अमेरिकाले सचेत गराएको हो।

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने बताएका छन्।

उनले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भनेका छन्।

तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने जनाएका छन्।

‘हामी एमसीसीसहितका विषयमा वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ’, उनले भनेका छन्, ‘आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहीत कुरा हो। मानिसहरूलाई शान्तिपूर्वक आफ्ना विचारहरू आदानप्रदान गर्न अनुमति दिनुपर्छ। तर हिंसा र हिंसालाई उक्साउने कुरा कदापि स्वीकार्य छैन।’