प्रचण्डको खुलासा : मलाइ अमेरिकामै सिध्याउन खोजियो
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किए लगत्तै नयाँ कुराको खुलासा गरेका छन् । पत्नी सीता दाहालको उपचारका लागि १० दिन अमेरिका बसेर फर्केका प्रचण्डले स्वदेश फर्किएलगत्तै यस्तो खुलासा गरेका हुन् ।
प्रचण्डले अमेरिकामा आफुलाई सिध्याउन योजना बनाइएको खुलासा गरेका छन् ।
उनले आफू जहाजमै रहेका बेला आफ्नाविरुद्ध अमेरिकामा उजुरी गरेको भएपनि अमेरिकाको एयरपोर्टमा पुग्नेवित्तिकै भुमिगत रुपमा गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको बताए ।
उनले भने ‘म जहाजमै रहेको बेला मेरा विरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ ।’
अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए । उनले भने , ‘राजदूत लगायतका साथीहरुले नै त्यो व्यवस्था गर्नुभएको रहेछ । उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ । हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन सर्कुलर’ जारी गरिसकेको थियो ।’
प्रचण्डले अमेरिकामा रहँदा नेपाली समुदाय र अमेरिकी अधिकारीहरुसँग समेत भेट भएको भन्दै नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको समेत जानकारी गराए । उनले भने ‘नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा सम्वाद नभएको लामो समय भएको छ । अब उच्च तहमा राजनीतिक सम्वाद हुनुपर्छ भन्ने विभिन्न तहका छलफलमा कुराकानी भएको छ, त्यसका लागि हामी प्रयास गर्छौं ।’
अध्यक्ष प्रचण्डले पत्नी सीताको उपचारका लागि ३ ठाउँमा अनुसन्धान र उपचार भएको भन्दै उनले भने ‘अमेरिकाका ३ ठाउँमा अनुसन्धान र उपचारको काम भयो। सीताको स्वास्थ्यको खास समस्या के हो ? भन्नेबारे डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका वैज्ञानिकहरुले पनि अनुसन्धान गरे । पहिल्यै सिङ्गापुरमा गरिएको अनुसन्धानको विकसित रुप नै रहेछ।’
पत्नीको उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष ‘प्रचण्ड’ विहीबार स्वदेश फर्किएका हुन् ।