अमेरिका-इरान युद्धको खतरा: यस्तो छ इरानको योजना - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अमेरिका-इरान युद्धको खतरा: यस्तो छ इरानको योजना



एजेन्सी- सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अन्तर्राष्ट्रिय समुदायले गरेको आणविक सम्झौता एकपक्षीय रूपमा तोडे ।

राष्ट्रपति बाराक ओबामाको पालामा इरानको आणविक कार्यक्रम रोक्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य र जर्मनीले इरानसँग उक्त सम्झौता गरेका थिए। आणविक कार्यक्रम रोकेबापत् इरानले यी देशले लगाएको प्रतिबन्धमा केही राहत पाएको थियो।

२०१६मा राष्ट्रपति चुनिएका ट्रम्पले उक्त सम्झौता खारेज गरे र इरानमाथिको प्रतिबन्ध थप कसिलो बनाए। त्यसयता मध्यपूर्वमा बलियो पकड भएको तेहरान र वासिङ्टनबीचको सम्बन्ध झनझनै बिग्रँदै गएको छ।

शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमण गरी इरानका दोस्रो शक्तिशाली व्यक्ति मेजर जनरल कसिम सुलेमनीलाई मारिदियो। सुलेमनी एलिट क्वाड फोर्सका प्रमुख थिए।

रेभुलसनरी गार्डअन्तर्गतको यो सैन्य संगठनले इरानी सीमाबाहिर आफ्नो कार्यक्षेत्र बनाएको छ। यसको प्रमुख इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी छन्।

बग्दादको विमानस्थल बाहिर सुलेमनीलगायतको टोली गाडीमा गइरहेका बेला अचानक ड्रोन आक्रमण भएको थियो। सुलेमनीसहित ६ जनाको टोली जहाजमा सिरियाबाट बग्दाद आएका थिए।

शुक्रबारको ड्रोन आक्रमण अचानक भए पनि अनपेक्षित भने थिएन किनकी सुलेमनीलाई अमेरिकाले लामो समयदेखि आफ्नो सत्रुको सूचीमा राखेको थियो।

सन् २०१५ को आणविक सम्झौतापछि अमेरिकाले सुलेमनी र उनका सेनामाथि आक्रमण नगर्ने अघोषित नीति अपनाएको थियो किनकी त्यतिबेला अमेरिकाको लडाइँ इराक र सिरियामा रहेको इस्लामिक स्टेटसँग केन्द्रीत थियो।

‘आइएसविरूद्धको अपरेशन गरिरहेका बेला हामीले स्वभाविक रूपमा सुलोमेनीसँग एउटा भद्र सहमति गरेका थियौं कि हामीले उनलाई र उनले हामीलाई निशाना नसाँध्ने,’ ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्का पूर्वबरिष्ठ निर्देशक क्रिस्टेन फोन्टेनरोजले समाचारपत्र द गार्डियनसँग भनेका छन्।

ट्रम्पले आणविक सम्झौता तोडेपछि र मध्यपूर्वमा अमेरिका र उसका सहयोगीको प्रमुख सत्रु आइएसको क्यालिफेट ध्वस्त भएपछि सुलेमनी नयाँ चुनौतीका रूपमा उदाएका थिए।

‘मौका मिल्नासाथ उनीमाथि आक्रमण हुनसक्थ्यो,’ फोन्टेनरोजले भने,‘एउटा अत्यन्त खतरनाक मान्छे तपाईंले आक्रमण गर्नसक्ने ठाउँमा छ भन्ने थाहा पाएपछि अर्को वर्षका लागि तपाईं त्यो मौका कुर्न सक्नुहुन्न।’

सिरियाको गृहयुद्ध सुरू भएदेखि नै राष्ट्रपति बसर अल असदलाई जोगाउन सुलेमनीले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले सिरियाभित्रका विभिन्न सैन्य दस्ता, राष्ट्रिय सुरक्षा बल, क्षेत्रीय शक्ति र पछिल्लो समय रूसलाई पनि असदको पक्षमा ल्याएका थिए।

अमेरिकी अधिकारीहरू जनरल सुलेमनीलाई इराक युद्धका क्रममा भएको सयौं अमेरिकी सैनिकको मृत्युको पनि जिम्मेदार ठान्छन्। त्यतिबेला सुलेमनीले इराकका विद्रोहीहरूलाई बम बनाउने अत्याधुनिक उपकरण र तालिम दिने गर्थे।

अमेरिका, इजरायल र साउदी अरेबियाविरूद्ध मध्यपूर्वका अरू देशमा हुने गतिविधिलाई बढावा दिन पनि सुलेमनीले मास्टरमाइन्डको काम गरेको अमेरिकी अधिकारीको आरोप छ।

‘सुलेमनीले इराक र उक्त क्षेत्रमा काम गर्ने कूटनीतिज्ञ र अन्य कर्मचारीमाथि आक्रमण गर्ने योजना बनाइरहेका थिए,’ ड्रोन आक्रमणपछि जारी गरिएको विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले भनेको छ,‘सुलेमनी र उनको क्वाड फोर्स सयौं अमेरिकी र अन्य सहयोगी देशका सैनिकको मृत्यु र हजारौं घाइतेका लागि जिम्मेवार छ।’

गत साता इरानले सहयोग गरिरहेको विद्रोही समूहले गरेको रकेट आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टर मारिएका थिए। यही साता बग्दादस्थित अमेरिकी राजदूतावासमा इराननिकट मिलिसियाले आक्रमण र आगजनी गरपछि अमेरिकाले सुलोमनीलाई निशाना बनाएको देखिन्छ।

सुलेमनी मारिएपछि विदा मनाउन फ्लोरिडास्थित आफ्नो रिसोर्टमा पुगेका राष्ट्रपति ट्रम्पले ट्वीटरमा अमेरिकाको झन्डा पोष्ट गरेका छन्।

अमेरिकाका लागि खलनायक सुलेमनी इरानमा भने सेलिब्रेटी थिए। सर्वोच्च नेता खामेनीसँग अत्यन्तै नजिक रहेका सुलेमनीलाई इरानको भावी नेताको रूपमा हेरिएको थियो।

सन् १९९८ देखि क्वाड फोर्सका प्रमुख बनेका सुलेमनीले मध्यपूर्वमा इरानी प्रभाव फैलाउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनका गतिविधिलाई नियन्त्रण गर्न अमेरिका, साउदी अरब र इजरायललाई हम्मेहम्मे परिरहेको थियो।

उनले नेतृत्व सम्हालेपछि क्वाड फोर्सले जासुसी, आर्थिक र राजनीतिक क्षमता धेरै बढाएको थियो। बितेका २० वर्षमा कैयौं पटकको उनको हत्या प्रयास भएको थियो। बेलाबेलामा उनी मारिएको हल्लाहरू चलिरहन्थे।

शुक्रबार बिहान भने उनी मारिएको खबर साँच्चै थियो। उनको मृत्युको खबर बजाउन सरकारी टेलिभिजनले चलिरहेको कार्यक्रम रोकेको थियो।

लगत्तै सर्वोच्च नेता खामेनीले सुरक्षा समितिको आकस्मिक बैठक डाके।

केहीबेरमा जारी भएको खामोनीको विज्ञप्तिमा भनिएको छ- भगवानसम्मको उनको प्रस्थानले उनको बाटो र मिसनलाई अन्त्य गर्दैन। बरू ती अपराधी जसको हातमा उनी र अरू सहिदहरूको रगत लतपतिएको छ तिनीहरूविरूद्ध शक्तिशाली बदला कुरिरहेको छ।

सुलेमनीको मृत्युमा इरानमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ।

इरानका सर्वोच्च नेता खामेनीले भनेको शक्तिशाली बदला कस्तो हुन्छ थाहा छैन तर उसले आक्रमण गर्न सक्ने ठानेर इजरायलले आफ्ना केही पर्यटकीय क्षेत्र बन्द गरेको छ भने सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखेको छ।

इरानले बदला लिने बताएपछि अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई देश छोड्न भनेको छ।

इरानले अमेरिकालाई सोझै आक्रमण नगरे पनि साइबर आक्रमण र उसका सहयोगीमाथि आतंकवादी हमला गर्ने सन्त्रास फैलिएको छ।