अमेरिकाले दियो भारतलाई ठुलो झट्का ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अमेरिकाले दियो भारतलाई ठुलो झट्का !



इन्डो-प्यासेफिक रणनीतिअन्तर्गत हिन्द र प्रशान्त क्षेत्रका देशहरूमा आर्थिक र मानवीय विकासमा सहकार्य गर्ने बताइरहेको अमेरिकाले यो क्षेत्रको महत्वपूर्ण साझेदार मुलुक भारतलाई दिँदै आएको केही सामानमा भन्सार छुट सुविधा भने खारेज गर्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संसदलाई पत्र लेखेर २ हजारभन्दा बढी सामानमा भारतलाई दिँदै आएको यस्तो सुविधा खारेज गर्ने लागेको बताएका छन्।

संसदलाई पत्र पठाएको ६० दिनपछि यो निर्णय कार्यान्वयन गर्न सकिने ट्रम्प प्रशासनले जनाएको छ।

अमेरिकाले भारतमा उत्पादित सवारी पार्टपुर्जा, औद्योगिक उपकरण र टेक्स्टाइल सामग्रीलाई ड्युटी फ्रीमा अमेरिका प्रवेश गर्न दिन्थ्यो।

सन् २०१७ मा भारतले यो सुविधाअनुसार ५ अर्ब ७० करोड डलर बराबरको सामान अमेरिका निर्यात गरेको थियो।

अमेरिकी कम्पनीहरूले आफूले उत्पादन गरेका दुग्धजन्य पदार्थ र मेडिकल सामग्रीलाई भारतीय बजारमा जान गैरकर अवरोध भइरहेको बताएका थिए।

आफ्ना उत्पादकको यो गुनासोपछि अमेरिकाले गत अप्रिलमै भारतीय सामानमा दिँदै आएको भन्सार छुट सुविधामा पुनरावलोकन गर्ने बताएको थियो।

‘तर भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई समान र उचित तरिकाले प्रवेश दिने कुरामा हामीलाई आश्वस्त पार्न सकेन,’ संसदलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्।

राष्ट्रपति ट्रम्पले संसदलाई लेखेको अर्को पत्रमा टर्कीले पनि पाइरहेको यस्तो सुविधा खारेज गर्ने बताएका छन्।

यही सुविधाअनुसार टर्कीले सन् २०१७ मा १ अर्ब ७० करोड डलर बराबरको सामान अमेरिका निर्यात गरेको थियो।

टर्कीको आर्थिक विकासको अवस्था हेर्दा अब ऊ विकासशील देश नरहेकाले यस्तो सुविधा खारेज गर्न लागेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन्।

अति कम विकसित मुलुकका हैसियतमा अमेरिकाले नेपाललाई पनि केही सामानमा भन्सार छुट दिइरहेको छ।