ट्रम्पका सल्लाकार भन्छन: अमेरिका निकै कमजोर अवस्थामा पुगेको छ - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

ट्रम्पका सल्लाकार भन्छन: अमेरिका निकै कमजोर अवस्थामा पुगेको छ



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाकार तथा शीर्ष सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा ‘गम्भीर अवस्थामा रहेको बताएका छन् ।

१६ राज्यहरुमा कोरोना भाइरसका संक्रमितहरुको संख्या लगातार बढ्दो क्रममा रहेका बेला डा. फाउचीले चिन्ता व्यक्त गर्दै अमेरिकामा रहेको ‘गम्भीर समस्या’ का कारण संक्रमण नियन्त्रणमा आउन नसकेको बताएका हुन् ।

पछिल्लो दुई महिनामा पहिलो पटक भएको कोरोना भाइरस सम्बन्धी ह्वाइट हाउस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा शुक्रबार डा. फाउचीले भने, ‘यो भाइरसको महामारी अन्त्य गर्ने एक मात्र उपाय भनेको एकीकृत प्रयास मात्रै हो ।’

स्वास्थ्य अधिकारीले संक्रमण कम गर्नका लागि अझै धेरै काम गर्नु पर्ने बताइरहेका बेला उपराष्ट्रपति माइक पेन्सले भने कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने कार्यमा अमेरिकाले गरिरहेको ‘प्रगति’ को प्रशंसा गरेका छन् ।

अमेरिकामा बिहीबार एकै दिन ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो, यो एकै दिन संक्रमित हुने अहिलेसम्मकै धेरै हो ।

अमेरिकामा संक्रमति हुनेको संख्या २४ लाख भन्दा बढी रहेको छ भने त्यसमध्ये एक लाख २५ हजार मानिसको ज्यान गएको छ ।

शुक्रबारको ब्रिफिङ्गको क्रममा ह्वाइट हाउस टास्क फोर्सका अधिकारीले मिलेनियल्स (युवा) हरुलाई कुनै लक्षण नभए पनि परीक्षण गराउन आग्रह गरेका छन् ।

संक्रमितको संख्या बढ्दो क्रममा गएपछि टेक्सास, फ्लोरिडा र एरिजोना राज्यमा लकडाउन खुलाउने योजना तत्कालका लागि थाती राखिएको छ ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले संक्रमितहरुको वास्तविक संख्या अहिले थाहा भए भन्दा १० गुण बढी अर्थात दुई करोड भन्दा बढी रहेको हुन सक्ने बताएका छन् ।

डा. फाउचीले देशका केही क्षेत्रमा अहिले अति गम्भीर समस्या रहेको र अरु क्षेत्रमा पनि सोही अवस्था आउन सक्ने जोखिम रहेको बताए ।

लकडाउन खुकुलो बनाउन केही हतारो गरिएका कारण संक्रमण पुनः बढ्न थालेको हुन सक्ने उनको भनाई छ । यस्तै नागरिकहरुले जारी भएका निर्देशनहरु पालना नगर्नु गम्भीर समस्या रहेको पनि बताए ।

डा. फाउचीले भने, ‘व्यक्ति आफ्ना लागि जिम्मेवार रहन्छ र उसको सामाजिक जिम्मेवारी पनि हुन्छ । यदी हामी यो महामारी अन्त्य गर्न चाहन्छौँ भने हामीले बुझ्नु पर्छ कि त्यसको हिस्सा हामी पनि हौँ र हाम्रो पनि जिम्मेवारी छ ।’

तत्काल संक्रमण नियन्त्रणमा लिन नसकिएमा अहिले महामारी नियन्त्रणमा राम्रो काम गरिरहेका क्षेत्रमा पनि समस्या पुनः बल्झिने चेतावनी डा. फाउचीले दिएका छन् ।