कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका छिर्न प्रतिबन्ध
काठमाडौं – अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले अमेरिका यात्राको प्रतिबन्ध हटाउन महिनौं लाग्ने बताएका छन् । उनले अमेरिकामा कोरोनो भाइरसको संक्रमणको प्रकोप नरोकिएको र अझै केही समय लाग्ने भन्दै यात्राको प्रतिवन्ध हट्न अझै महिनौं लाग्ने बताएका हुन् ।
लकडाउनमा छुट दिएसँगै दोस्रोपटक कोरोना संक्रमणको दर पहिलाकै अवस्थामा फैलिन सक्ने स्वास्थ्य विज्ञहरुले बताइरहेको बीबीसीले जनाएको छ । अमेरिकाका टेक्ससलगायत केही सहरमा कोरोना संक्रमण लकडाउनमा छुट दिएपछि पहिलाको भन्दा धेरै देखिएको छ ।
यस वर्षको मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, बेलायत, चीन र ब्राजिलबाट अमेरिका आउन प्रतिबन्ध लगाइदिएका थिए ।
टेलिग्राफ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा डा. एन्थोनी फाउचीले प्रतिबन्ध कोरोना भाइरसको खोप पत्ता नलागेसम्म जारी रहन सक्ने बताएका छन् । यो वर्ष सम्भवत देशको अवस्था सामान्य हुँदै जाने बताएका उनले जाडोमा कोरोना संक्रमण हुँदैन भन्ने आफूलाई विश्वास नलागेको स्पष्ट पारेका छन् । यद्यपि उनले यो वर्षको जाडोमा कोरोनाको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकामा हालसम्म १ लाख १४ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने २० लाख संक्रमित भइसकेका छन् ।
न्युयोकका गभर्नर एन्ड्रयू कुमाले लकडाउन हटाउनु सबैभन्दा ठूलो गल्ती हुन सक्ने बताएका छन् । उनले भनेका छन्, “हामी देखिरहेका छौं विश्वका केही देशमा सलकडाउन हटाएपछि कोरोना संक्रमणको दोस्रो लहरको खतरा बढीरहेको छ । विश्व स्वास्थ्य संगडन, डा. फाउची, तथा सेन्टर्स फर डिजिज कन्ट्रोलले लकडाउन नहटाउने चेतावनी दिइरहेका छन् । यसबाहे अरु के चेतवानी चाहिन्छ र ? संसारभर यही देखिरहेको छ । र यसलाई नजरअन्दान गर्न सकिँदैन ।”
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहका कारण त्यहाँका प्रान्त सरकारले जवरजस्ती लकडाउन खोलेर व्यापार व्यावसाय सञ्चालन सुरु गरेका हुन् ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १९ हजार कोरोना संक्रमित थपिएका छन् भने ३२६ जनाको मृत्यु भएको छ । अघिल्ला दिनहरुको तुलनामा संक्रमित र मृत्यु दर पछिल्लो २४ घण्टामा निकै कम हो । औषतमा अमेरिकामा पछिल्ला केही हप्ता यता दैनिक आठ सयदेखि हजारका दरले संक्रमितको मृत्यु हुँदै आएको छ भने २५ देखि ३० हजार संक्रमित थपिरहेका छन् ।