अमेरिकाले दियो गृहमन्त्री बादललाई चेतावनी - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

अमेरिकाले दियो गृहमन्त्री बादललाई चेतावनी



गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति संयुक्त राज्य अमेरिकाले आपत्ति जनाएको छ ।

आफ्नो काठमाण्डुस्थित दूतावासमार्फत अमेरिकाले बादलको विवादास्पद अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण गराएको हो । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीमाथि कारबाहीमा भइरहेको ढिलाइबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्रीले केही दिनअघि संघीय संसदको रोष्ट्रममा उभिएर नेपालमा भन्दा अमेरिकामा बढी बलात्कार घटना हुने गरेको अभिव्यक्ति दिएका थिए ।

बुधबार संसदको राज्य व्यवस्था समिति बैठकमा समेत उनले सोही अभिव्यक्ति दोहो¥याएका थिए ।

पुँजीवादले महिलालाई नाफा कमाउने सामानका रुपमा प्रयोग गरेकाले बलात्कार बढेको तर्क उनको थियो । ‘सबैभन्दा धेरै बलात्कार ‘अम्रिका’ (अमेरिका) मा हुन्छ’, बादलले भनेका थिए, ‘त्यो पुँजीवादले जन्माएको हो । पुँजीवादले नाफा कमाउने मालको रूपमा महिलाको प्रयोग गर्छ ।’

निर्मला पन्तको बलात्कार र हत्या त्यसैको प्रतिकात्मक घटना भएको जिकिर उनको थियो । नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत आफ्नो देशलाई नै बदनाम गर्ने गरी गृहमन्त्री थापाले बलात्कारसँग जोडेर पटकपटक अभिव्यक्ति दिनुको कारणबारे चासो राख्दै आपत्तिसमेत जनाएको छ । ‘गृहमन्त्रीको अभिव्यक्ति कुटनीतिक मर्यादाविपरीत त छँदैछ’, दूतावास अधिकारीको भनाइ उद्धृत गर्दै परराष्ट्र स्रोतले भन्यो, ‘यस्ता अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमै चिसो ल्याउन सक्छ ।’