बाजुरामा आमा र दुई छोराहरूको छाउगोठमै जलेर मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाजुरामा आमा र दुई छोराहरूको छाउगोठमै जलेर मृत्यु



बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा–९ भोगीचौरकी अम्बा बोहोरा र उनका दुई छोराहरूको मृत्यु भएको छ ।

अघिल्लो दिनदेखि उनको बास छाउगोठमै थियो । सोमबार राति जाडोले साह्रै सताएको थियो ।

मंगलबार उनी दुई कलिला छोरालाई लिएर सुत्न गइन् । जाडो भगाउन उनीहरुले आगो पनि बाले । दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन् । निसास्एिर अम्बा र उनका दुई छोराको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

३५ वर्षीया अम्बा बोहोरा, उनका छोराहरु नौ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरेश कक्षा ३ र रमित कक्षा एकमा पढ्थे । बुधबार बिहान घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सासुले बिहान पाँच बजेतिर तीनै जनालाई मृत फेला पारेकी थिइन् । अम्बाका पति काशी बोहोरा भारतमा रोजगारी गर्छन् ।

घरमा सासु बिसु बोहरा र ससुरा कर्ण बोहरा बस्ने गरेको वडा अध्यक्ष खड्क बोहोराले बताए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिंह भाटले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।

मृतकको पोस्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम मार्तडी बाट ५ घण्टाको पैदल दूरीमा छ ।