आमाको नामबाट नागरिकता प्रदान गर्न सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आमाको नामबाट नागरिकता प्रदान गर्न सर्वोच्चको आदेश



सर्वोच्च अदालतले मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार साहलाई आमाको नाममा नागरिकता प्रदान गर्न आदेश दिएको हो ।

६ वर्षअघि आमाको नामबाट नागरिकता लिन खोजेका साहलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले अन्तरिम संविधान २०६३ मा त्यस्तो व्यवस्था नभएको भन्दै नागरिकता दिन अस्वीकार गरेको थियो । उनकी आमाले विदेशी नागरिकसँग बिहे गरे पनि ३८ वर्षदेखि उनीहरू नेपालमै बसोवास गरिरहेका छन् । नेपालमै जन्मेहुर्केको र आफूले विदेशी नागरिकता नलिएको भन्दै उनले नागरिकताको प्रमाणपत्रका लागि आवेदन दिएका थिए । तर, नागरिकता नपाएपछि उनी सर्वोच्चसम्म पुगेका हुन् ।

सर्वोच्चले नयाँ संविधानको व्यवस्थाअनुसार नै साहलाई आमाको नामबाट नागरिकता दिन आदेश जारी गरेको हो । संविधानको धारा ११ को उपधारा (७) मा ‘यस धारामा अन्य जुनसुकै कुरा लेखिएको भए पनि विदेशी नागरिकसँग विवाह गरेको नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोवास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने’ उल्लेख छ । नयाँ पत्रिकाबाट ।