अल इण्डिया रेडियोको राष्ट्रिय च्यानलका साथै पाँचवटा क्षेत्रीय प्रसारण बन्द - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

अल इण्डिया रेडियोको राष्ट्रिय च्यानलका साथै पाँचवटा क्षेत्रीय प्रसारण बन्द



प्रसार भारतीले खर्चमा कटौती गर्ने भन्दै अल इण्डिया रेडियोको राष्ट्रिय च्यानलका साथै पाँचवटा सहरमा भएका क्षेत्रीय प्रसारण तथा मल्टिमिडिया एकेडेमीहरु बन्द गर्ने निर्णय गरेको छ।

प्रसार भारती भारतकाे सार्वजनिक प्रसारण संस्था हाे जुन अल इण्डिया रेडियाे, अल इण्डिया रेडियाे न्यूज, दूरदर्शन टेलिभजन डीडी न्यूज फ्रेश डिश, डीटीटीलगायतका च्यानलहरुकाे मातृसंस्था हाे ।

प्रसार भारतीले बिहिबार अचानक निर्णय गर्दै राष्ट्रिय च्यानलका साथै पाँचवटा सहरमा भएका क्षेत्रीय प्रसारण तथा मल्टिमिडिया एकेडेमीहरु बन्द गर्ने आदेश जारी गर्यो ।

तुरुन्तै कार्यान्वयन हुने गरी इण्डिया रेडियोको राष्ट्रिय च्यानलका साथै अहमदाबाद, हैदराबाद, लखनउ, शिलोंग तथा तिरुवन्तपुरममा रहेको क्षेत्रीय प्रसारण र मल्टिमिडिया एकेडेमीहरु बन्द गर्ने निर्णय गरिएको हो ।

प्रसार भारतीका तर्फबाट यी कार्यालयहरु बन्द गर्नेसम्बन्धी पत्र गएको डिसेम्बर महिनाको २४ तारिखका दिन आकाशवाणीका महानिर्देशकलाई पठाएको थियो भने यो निर्णय जनवरी ३ तारिखका दिनदेखि लागू भएको हो ।

सन् १९८७ मा भारत सरकारको प्रसारण नियमावली अन्तर्गत यस च्यानलमा एकभन्दा धेरै भाषामा कार्यक्रम प्रसारण गर्न सुरु गरिएको थियो । यसको प्रसारण बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म हुँदै आएको थियो ।

यसैक्रममा च्यानलमा घण्टा घण्टामा समाचार, सामूहिक छलफल, राष्ट्रिय महत्वका कार्यक्रमलगायत भारतीय समाजसँग सम्बद्ध थुप्रै कार्यक्रमहरु प्रसारण हुने गर्दथे । राष्ट्रिय च्यानल बन्द भएपछि अब अल इण्डियासँग कुनै राष्ट्रिय च्यानल बाँकी छैन ।

प्रसार भारतीको यो फैसलाले अल इण्डिया रेडियो तथा दूरदर्शनका कर्मचारी संगठनले विरोध जनाएका छन् । कर्मचारीहरुले यस कदमका विरुद्ध पत्र पनि पठाउने भएका छन् ।

उनीहरुका अनुसार खर्च कटौती गर्न योभन्दा अन्य राम्रा उपायको खोजी गर्न सकिन्थ्यो । राष्ट्रिय च्यानलसँग हज्जारौं कार्यक्रमहरुको धेरै ठूलो संग्रह रहेकाले यहाँ काम गर्ने कर्मचारीलाई अन्यत्र सरुवा गराउन पनि सकिन्थ्यो ।

तर यसरी च्यानलहरु नै बन्द गरेर त्यहाँ काम गरिरहेका थुप्रै कर्मचारीमाथि अन्याय भएकाे उनीहरुकाे ठहर छ ।एजेन्सी