संकटमा आले: बतास समूहको पक्षमा अदालतले दियो आदेश - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

संकटमा आले: बतास समूहको पक्षमा अदालतले दियो आदेश



काठमाडौं- पशुपतिको धर्मशाला संचालनमा रोक नलागाउन उच्च अदालत पाटनले आदेश दिएको छ । बतास समूहले संचालन गरिरहेको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यससँगै पर्यटनमन्त्री प्रेम आलेको ठाडो आदेशमा रद्द गरिएको सम्झौता खारेज नहुने भएको छ । अदालतको आदेशले पशुपतिस्थित धर्मशालाको संचालन होटल आनन्द प्रालिले नै गर्ने भएको छ ।

आलेको ठाडो आदेशले खारेज गरेको सम्झौताविरुद्ध होटल बतास समूहले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । यससँगै मन्त्री आले भने संकटमा परेका छन् ।

उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।

‘अन्तरिम आदेशको टुंगो नलाग्दासम्म मिति २०७६/०१/३० को करार सम्झौताबमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरि आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ ।

सम्झौताविपरीत सञ्चालन गरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो ।