'काम गर्न सकिनँ भने एक सेकेन्ड पनि पदमा बस्दिनँ' - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

‘काम गर्न सकिनँ भने एक सेकेन्ड पनि पदमा बस्दिनँ’



काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पति फिर्ता गर्न नसके पदमा नबस्ने बताएका हुन्।

राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए। विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै उनले आफूले फिर्ता गराएरै छाड्ने बताए। पदमा बसुन्जेल इमान्दारीपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे। मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरुले अन्य व्यक्तिहरुसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए।

उनले भने, ‘नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो। मैले भनेको छु साथीहरुलाई पब्लिकको कोर्टमा यो बल गएको छ। यो प्रोपर्टी हामीले रिटर्न ल्याउन सकेनौं भने म त एक सेकेन्ड यहाँ बस्नेवाला छैन। मलाई त्यो नैतिकता पनि छैन।’

नेपालका क्यासिनोहरुले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए। आफूले राम्रो काम गरिरहे पनि केही मिडिया आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे। उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए।