अख्तियारको प्रतिवेदन: कर्मचारी सबैभन्दा भ्रष्ट
काठमाडौं । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरु सबैभन्दा बढी भ्रष्ट भएको बताएको छ । आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ३०औँ वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ ।
आयोगको प्रतिवेदनमा जनप्रतिनिधिभन्दा कर्मचारी धेरै भ्रष्ट भएको उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा १ हजार २ सय १२ जनामाथि मुद्दा परेकोमा ८ सय ४ जना कर्मचारी रहेका प्रतिवेदनमा उल्लेख छ । यस्तै, मतियार र बिचौलिया गरेर ३ सय ३५ र ३ जना मन्त्रीसहित ७३ जना निर्वाचित तथा मनोनित प्रतिनिधिहरुमाथि मुद्दा चलेको छ ।
आयोगले गत वर्ष घुस लिएको आरोपमा २ सय ७६ जना पक्राउ गर्दा २ सय ८ जना विशिष्ट श्रेणीका कर्मचारी पक्राउ परेका प्रतिवेदनमा उल्लेख छ । यस्तै, गत आर्थिक वर्षमा १४ जनामात्रै जनप्रतिनिधि पक्राउ परेका छन् ।
आयोगको प्रतिवेदनमा सामान्य प्रशासन मन्त्रालयको सबैभन्दा बढी उजुरी परेको पनि उल्लेख छ । मन्त्रालयको मात्रै ३० प्रतिशतभन्दा बढी उजुरी परेको हो । प्रदेशगत हेर्दा २ नम्बर प्रदेशको सबैभन्दा बढी २३.८७ प्रतिशत उजुरी परेको प्रतिवेदनमा उल्लेख छ ।