अखिल क्रान्तिकारीद्बारा जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

अखिल क्रान्तिकारीद्बारा जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी



महेन्द्रनगर ,कञ्चनपुर । यहि बैशाख २ गतेदेखि भर्ना अभियान तथा शैक्षिकसत्र सुरुसँगै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेको छ। मंगलबार बिहान अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टको फोटो कुर्सीमा राखेर आगजनी गरेका हुन्।

जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाइएपछि प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट र पूर्व केन्द्रीय सदस्य चन्द्रकान्त भट्टलाई पक्राउ गरेको छ। अखिल क्रान्तिकारीले पक्राउ गरिएका आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ।

लामो समयदेखि आफूहरुले अघि सारेका माग सम्बोधन नभएको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन्।जिल्ला शिक्षा कार्यालयले विगतदेखि अघि सारेका माग कार्यान्वयनमा ढिलाइ गरेको भन्दै नयाँ शैक्षिक सत्रको शुरुवाती सँगै आन्दोलन सुरु गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।

‘हामीले विभिन्न माग राखेर आन्दोलन थालेको धेरै भयो’ अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र विष्टले भने,’अहिलेसम्म कुनै पहल नभएपछि आन्दोलन अघि बढाएका हौं।’

‘हामीले पहिलेदेखि नै पुनः भर्ना शुल्क र वृद्वि गरिएको मासिक शुल्क खारेजीको माग गर्दै आएका थियौं,उनले भने, ‘ माग सम्बोधन गर्नुको साटो नयाँ शैक्षिक सत्रमा भर्ना शुल्क र मासिक शुल्कमा वृद्वि गरिएको छ। ‘

जिल्ला प्रशासन कार्यालयले समेत पटक–पटक जिल्ला शिक्षा अधिकारीलाई वार्ताका लागि बोलाइए पनि अटेरी गर्ने गरेको विद्यार्थी संगठनको आरोप छ।अखिल क्रान्तिकारीले अवैधानिक नीजि विद्यालय बन्द गर्नुपर्ने, विद्यालयको वर्गीकरण गर्नुपर्ने, सरकारी विद्यालयमा भइरहेको ढिलासुस्ती अन्त्य गर्नुपर्ने, बाहिरी जिल्लाबाट आर्थिक चलखेलमा पुरानो मितिमा भइरहेको सरुवा प्रक्रिया रोक्नुपर्ने लगायतका माग अघि सारेको छ।