अर्घाखाँची दुर्घटना: आठजनाको सनाखत (नाम सहित)
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
मृतक १८ जनामध्ये आठजनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा रुपन्देही बाँसगढीका ३१ वर्षीय वसन्त भन्ने चालक ओम बहादुर थापा, सन्धिखर्क नगरपालिका वडा-७ बस्ने ५६ वर्षीय शिवलाल भट्टराई‚ बलराम भट्टराई, ५० वर्षीया माया पुरी, २२ वर्षीया मनिका खड्का, भुमिकास्थान नगरपालिका-९का १९ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका-३की सिता भाट, सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत गुल्मीका राजकुमार महत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरीले जनाएको छ ।
दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ९ पुरुष, एक बालक, ६ महिला र एक बालिका रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र एक जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।