अझै केहिदिन ब्यापक वर्षा हुने, के भन्छन् मौसमविद् ? - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

अझै केहिदिन ब्यापक वर्षा हुने, के भन्छन् मौसमविद् ?



काठमाडौं- मौसमविद्ले यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। उनीहरूका अनुसार अझै ३ दिन वाग्मती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्ष हुने सम्भावना छ। अन्य प्रदेशमा भने बिहीबारदेखि वर्षा क्रमशः कमजोर हुँदै जाने उनीहरूको अनुमान छ।

मौसमविद् मीनकुमार अर्यालले यस वर्षको वर्षायाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको बताए। सामान्यतया वर्षायाममा काठमाडौंमा १ हजार १ सय ३० मिलिमिटर औसत वर्षा हुने गर्छ। यस वर्ष त्योभन्दा बढी वर्षा हुने उनको भनाइ छ। अर्यालका अनुसार नेपालमा मनसुन जुन १३ बाट सुरु हुन्छ। तर यस वर्ष जुन १० बाटै मनसुन सुरु भई जुन १३ मा देशभर सक्रिय भएको अर्यालले बताए। मौसमविद्हरूका अनुसार मनसुनी हावाको प्रभावका कारण हाल देशभर वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही भूभागमा आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। आगामी २४ घण्टा बाढीपहिरो तथा वर्षाको कारण यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाइ छ।

मौसमविद्का अनुसार अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायु वर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ। उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्पयुक्त वायु हरेक वर्ष नेपालसम्म आइपुग्छ। मदागस्करनजिकै टापुमा उच्चचापीय प्रणाली विकसित भई मनसुनी वायु उत्पत्ति हुने मौसमविद्को भनाइ छ। त्यहाँ उत्पन्न भएको वायु सोमालियाबाट मोडिएर बंगालको खाडी हुँदै नेपाल आइपुग्छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशभरका १६ वटा स्टेसनबाट आएका सूचना र स्याटेलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गर्ने गरिन्छ। यसैगरी विविध नमुना अध्ययनबाट पनि मौसम पूर्वानुमान गर्ने गरिएको छ।

नेपालमा वर्षायाम सामान्यतया हरेक वर्ष जुन १ मा सुरु भएर सेप्टेम्बर अन्तिमसम्म रहने गर्छ। मौसमविद्का अनुसार केही वर्षयता वर्षायाम सकिने दिन पर सर्दै गएको छ।