अर्घाखाँचीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । सदरमुकाम सन्धिखर्कस्थित लात्तेबाझमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।
चुत्रावेशीबाट प्युठानको बरौला गाउँतर्फ जाँदै गरेको लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको छ ।
दुर्घटनापछि चालक फरार रहेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्बिर