साहिद अफ्रिदीले गरे आफ्नोबारे नयाँ खुलासा - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

साहिद अफ्रिदीले गरे आफ्नोबारे नयाँ खुलासा



लाहोर- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीको विश्व कीर्तिमानका तथ्यांकमा उल्लेख छ- साहिद अफ्रिदी सबैभन्दा कम उमेरमा एकदिवशीय सतक बनाउने खेलाडी हुन्। यी पाकिस्तानी अलराउन्डरले २३ वर्षअघि बनाएको विश्व कीर्तिमान अझै कसैले तोड्न सकेको छैन।

सन् १९९६ मा भएको त्रिकोणात्मक एकदिवशीय शृंखलामा अफ्रिदी पहिलोपटक सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा उत्रँदै थिए। उनले शृंखलाअन्तर्गत नैरोबीमा श्रीलंकाविरुद्ध भएको खेलमा ३७ बलमा सतक पुरा गरेका थिए। उनले एक साथ दुई विश्व कीर्तिमान बनाए- सबैभन्दा कम उमेर र सबैभन्दा कम बलमा एकदिवशीय सतक बनाउने खेलाडी। त्यतिबेला अफ्रिदीको उमेर १६ वर्ष दुई सय १७ दिन रहेको आईसिसीले उल्लेख गरेको छ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १८ वर्षभन्दा कम उमेरका खेलाडी बनाउने अफ्रिदीबाहेक एक खेलाडी मात्र छन्। अफगानिस्तानका उसमान घानीले सन् २०१४ मा जिम्बावेविरुद्ध सतक बनाउँदा उनको थियो-१७ वर्ष दुई सय ४२ दिन। सबैभन्दा कम बलमा एकदिवशीय सतक बनाउने खेलाडीका रुपमा अफ्रिदीको कीर्तिमान तोडिन १८ वर्ष लागेको थियो। सन् २०१४ मा न्युजिल्यान्डका कोरि एन्डर्सनले ३६ बलमा सतक बनाएका थिए। कोरिको कीर्तिमान एक वर्षपनि टिक्न सकेन। दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले ३१ बलमा सतक बनाएका थिए सन् २०१५ मा।

हालै सार्वजनिक भएको अफ्रिदीको आत्मवृतान्त ‘गेम चेन्जर’मा उनले सन् आफू सन् १९७५ मा जन्मिएको तर सरकारी अधिकारीको गल्तिका कारण आफ्नो जन्ममिती सन् १९८० हुन गएको उल्लेख गरेका छन्। टिम गेममा खेलाडीको जन्म मिती जानाजान कम बनाउने गरिएको छ। यसका कारण उमेरस्तरको प्रतियोगितामा वास्तविकरुपमा बढि उमेरका खेलाडीले खेल्ने गरेको तथ्य पटकपटक सार्वजनिक हुने गरेको छ।

पाकिस्तानकै युनिस खानले टीट्वेन्टी क्रिकेटबाट सन्याश लिँदा भनेका थिए- ३४ वर्षको उमेरमा अब यो स्वरुपमा खेल्न सकिँदैन। त्यतिबेला अफिसियल रेकर्डमा युनिसको उमेर केवल ३१ वर्ष उल्लेख थियो।

अफ्रिदी विश्व क्रिकेटका निकै प्रतिभावान खेलाडि मानिन्छन्। उनले यसै वर्ष भएको पाकिस्तान सुपर लिग-पीएसएलमा ६ दशमलब ७४ इकोनोमिक रनरेटमा १० विकेट लिएका थिए। ४४ वर्षको उमेरमा पनि अफ्रिदीको खेल्ने जोस र क्षमता अझै कम भएको छैन।