अफ्रिकामा कोरोनाको बेग्लै प्रक्षेपण: १० देशमा त भेन्टिलेटर नै छैन
एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर रहेको छ र हालसम्म १ लाख ६५ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको चपेटामा अब अफ्रिकन देशहरु आउने सम्भावना अधिक रहेको अधिकारीहरुले बताएका छन् ।
यएनको अफ्रिका आर्थिक कमिशनले चेतावनी दिदै कम्तीमा ३ लाख बढी मानिसहरुको मृत्यु हुने अनुमान गरेको छ । कमिशनले यो भाइरसविरुद्ध लड्न १०० बिलियन डलर रकमको पनि माग गरेको छ ।
अफ्रिकाको सबैभन्दा ठुलो भाग गरिबीको चेपेटामा रहेको छ । युएनका अनुसार कोरोनाका कारण करिब ३ करोडभन्दा बढी मानिसहरु गरिब हुनेछन् । अफ्रिकामामात्रै १९ हजारभन्दा बढी संक्रमितहरु फेला परेको खबर बाहिर आइसकेको छ ।
कोरोना भाइरसविरुद्ध लड्न ठुलो जनशक्ति र औषधि आवश्यकता पर्ने बताइएको छ । तर, अफ्रिकाका १० देशहरु रहेका छन् जहाँ भेन्टिलेटर पनि रहेको छैन । अफ्रिका महादेशमा ५५ देशहरु रहेका छन् । न्युर्योक टाइम्सका अनुसार अफ्रिकामा सबैभन्दा बढी आवश्यकता मेडिसिनको रहेको छ ।
त्यस्तै उपचारका लागि आवश्यक सामाग्रीहरु रहेका छन् । तर, अफ्रिकन देश यो भाइरसविरुद्ध लड्न तयार नरहेको समेत बताइएको छ ।
४१ वटा अफ्रिकी देशको कुल भेन्टिलेटर जम्मा २ हजार रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । शक्तिशाली देश अमेरिका एक्लैसँग १ लाख ७० हजारभन्दा बढी भेन्टिलेटरहरु रहेका छन् ।
डब्लुएचओका अनुसार अफ्रिकाका ५५ देशमध्ये ४३ देशसँग कुल गरेर ५ हजार आइसियु बेड रहेका छन् । यो १० लाख मानिस बराबर ५ बेड हो । जब युरोपमा १० हजार व्यक्ति बराबर ४ हजार आइसियु बेड रहेको छ ।
अफ्रिकामा हाल नै साबुन, स्यानीटाइजर, माक्स, अक्सिजनजस्ता सामग्रीहरु सटेज भइसकेका छन् । यसले भाइरस फैलिन झन् वातावरण निर्माण गरेको अधिकारीहरु बताउँछन् ।