आफ्नै ज्वाइँलाई कुटेर मारे ससुराले - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

आफ्नै ज्वाइँलाई कुटेर मारे ससुराले



राजविराज- ससुरासहित परिवारै मिलेर कुटपिट गर्दा सप्तरीमा एक युवकको मृत्यु भएको छ। राजविराज नगरपालिका–९ मलेठका ४५ वर्षीय रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई मंगलवार राति कुटपिट गरेका थिए। हनुमाननगर नगरपालिका स्थित गिदखोराका मण्डलको शव ससुराली घरभन्दा करिब १ किलोमिटर टाढा फेला परेको थियो।

परिवारसहितको कुटपिटबाट मण्डलको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

श्रीमती अञ्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई मण्डलको हत्या गरेको उनीहरुको आरोप छ। दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षिय अञ्चना मण्डलकी कान्छी श्रीमती हुन्। जेठी श्रीमती रेशमी मण्डलसँग बस्ने गरेकोले अन्जनाको परिवारले योजनाबद्ध ढंगले हत्या गरेको मृतककी काकी फूलोदेवी मण्डलले बताइन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ससुरा रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह प्रहरी नियन्त्रणमा रहेको एसपी मुकेशकुमार सिंहले बताए।

मण्डलको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।