योगी आदित्यनाथलाई गोरखपुरमा सुभावतीको चुनौती - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

योगी आदित्यनाथलाई गोरखपुरमा सुभावतीको चुनौती



काठमाडौं : भारतको उत्तर प्रदेश राज्यमा भोलि बिहीबारदेखि विधानसभा चुनाव सुरु हुँदैछ । निर्वाचनका लागि सबै दलले बुधबार उम्मेदवारको टुंगो लगाएका छन् । बीबीसी हिन्दीकाअनुसार यूपीका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुरबाट चुनाव लड्दैछन् ।

भारतीय जनता पार्टीबाट उम्मेदवार रहेका आदित्यनाथलाई पार्टीले पुन: मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेको छ । भाजपाका तर्फबाट पुन: मुख्यमन्त्रीका दाबेदार रहेका योगीलाई विधानसभामै रोक्न अखिलेश यादव नेतृत्वको मुख्य प्रतिस्पर्धी दल समाजवादी पार्टी (सपा)ले महिला उम्मेदवार खडा गरेको छ ।

सपाले भाजपाका पूर्वनेता उपेन्द्र दत्त शुक्लाकी पत्नी शुभावती शुक्लालाई मुख्यमन्त्री आदित्यनाथविरुद्ध गोरखपुरमा उम्मेदवार बनाएको हो । शुभावती गृहिणी हुन् । यसअघि उनको कुनै राजनीतिक अनुभव छैन ।

अन्य दलले पनि मुख्यमन्त्री आदित्यनाथविरुद्ध लड्ने उम्मेदवारको टुंगो लगाएका छन् । बहुजन समाज पार्टीले ख्वाजा शमसुद्दीनलाई टिकट दिएको छ ।

भीम आर्मीका नेता चन्द्रशेखर आजाद पनि आदित्यनाथविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस आईले भने अझै उम्मेदवार तय नगरेको बीबीसी हिन्दीले जनाएको छ ।

गोरखपुर सहरको निर्वाचन क्षेत्र सन् १९८९ देखि नै भाजपाको कब्जामा रहँदै आएको छ । वर्ष २००२ लाई छोडेर २०१७ सम्म विधानसभामा यो क्षेत्रबाट भाजपाकै उम्मेदवार जित्दै आएका छन् ।

लोकसभामा पनि १९९८ देखि योगी आदित्यनाथ जित्दै आएका थिए । पाँचपटक लोकसभा सांसद रहिसकेका योगी २०१७ मा मुख्यमन्त्री बनेका थिए । योगी पहिलोपटक गोरखपुरबाट विधानसभा चुनाव लड्न लागेका हुन् ।