बहुमत सचिवालय सदस्यले ओलीलाई भने: तत्काल अध्यादेश फिर्ता होस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले अध्यादेश तत्काल फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
नेकपाका बहुमत सचिवालय सदस्य कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवासमा छलफलमा जुटेका थिए । सो बैठकले तत्कालै अध्यादेश फिर्ता लिन आग्रह गरेको एक सदस्यले जानकारी गराए ।
अध्यादेश प्रकरणपछिकार्यकारी प्रचण्ड निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले ओलीको कदमविरुद्ध स्थायी कमिटी बैठकमा कडा प्रतिवाद गर्ने निर्णय समेत गरेको बताइएको छ ।
‘पार्टीलाई कुनै जानकारीसमेत नदिएर ल्याइएको अध्यादेश गम्भीर विषय हो,’ सचिवालय सदस्य झलनाथ खनालले भने, ‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौं। अब भोलि बस्ने स्थायी कमिटीले नै आवश्यक निर्णय लिन्छ।’
बुधबार बस्ने स्थायी कमिटीको बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदमको कडा प्रतिवाद गर्ने भएका छन्।
नेता खनालका अनुसार अध्यादेश खारेजीको माग बैठकमा सशक्त रुपमा उठ्ने भएको छ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि चाल्नुपर्ने रणनीतिका बारेमा छलफल गर्न दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।