संसद विघटन खारेजीको माग गर्दै १४९ सांसद नै सर्वोच्च जाने तयारी - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

संसद विघटन खारेजीको माग गर्दै १४९ सांसद नै सर्वोच्च जाने तयारी



काठमाडौं- प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेर चुनाव घोषण गर्ने कदमविरुद्ध पाँच दल मिलेर लड्ने भएका छन् । अहिले संसद् भवन बानेश्‍वरमा सर्वदलीय बैठक बसिरहेको छ ।

बैठकमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्‍त्री केपी ओलीको गलत कदम खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल भएको बताइएको छ। विभिन्न विकल्पमा चाह्ल्फल भएपनि वैकल्पिक सरकारका लागि राष्ट्रपतिकहाँ निवेदन दिने सांसदहरू नै अदालतमा जानुपर्ने बिषयमा छलफल भैरहेको बताइएको छ ।

वैकल्पिक सरकारका लागि राष्ट्रपतिलाई निवेदन दिएका १४९ सांसदहरू नै संसद विघटन खारेजीको माग गर्दै सर्वोच्च जानेबारेमा पनि बैठकले निर्णय गर्ने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन्।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका दुवै दाबी खारेज गर्दै मध्यरातमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको थियो।

विपक्षीहरूले राष्ट्रपति र प्रधानमन्‍त्रीले संविधानमाथि जालसाजी गरेको भन्दै यो कदमलाई प्रतिगमनको संज्ञा दिएका छन्। विघटन गर्ने कदमको नागरिकस्तरबाट पनि यसको चर्को निन्दा र विरोध भएको छ।

मध्यरातमा राष्ट्रपतिले दुवै दाबी खारेज गरेपछि रातारात मन्‍त्रिपरिषद्को आकस्मिक बैठक डाकेर संसद् विघटन र चुनावको मितिको सिफारिस गरिएको थियो। त्यसलाई राति नै राष्ट्रपतिबाट सदर गरिएको थियो।