अब अदालतभित्र आक्रमण गर्ने गृहमन्त्रीको सङ्केत - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

अब अदालतभित्र आक्रमण गर्ने गृहमन्त्रीको सङ्केत



बुटवल । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अदालतभित्रका दलाललाई कारवाही नगरेसम्म नेपालमा समृद्धि र समाजवाद सम्भव नरहेको बताएका छन् । लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानको प्रदेश नं ५ मा उद्घाटन गर्दै गृह मन्त्री बादलले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारको समृद्धि र विकाससँगै समाजवादको मार्गमा मुख्य शत्रु राजनीतिक दल, कर्मचारी संयन्त्र, अदालतभित्रका दलालका कारण समस्या भएको बताउँदै यिनीहरु नै जनताका शत्रु रहेको र यिनलाई कारवाही नगरेसम्म समृद्धि र समाजवाद सम्भव नरहेको बताए ।

सरकारले शुरु गरेको महिला तथा बालबालिका हिंसाका घटना न्यूनीकरण अभियान समाजमा रहेको सबै किसिमका अपराध र अपराधीविरुद्धको अभियान भएको बताउँदै उहाँले यस अभियानलाई जनता मिलेर सफल बनाउने मुख्य अभिभारा रहेको बताए ।

उनले अपराधका घटना नियन्त्रणका लागि मन्त्रालयले विशेष योजनासहित राज्यका जनप्रतिनिधि रहेका तल्लो तहसम्म गएर कार्यान्वयन गर्ने र सबै तहमा राज्यका जनप्रतिनिधिले नागरिक समाज, जनतालाई समेटेर अभियान थाल्न निर्देशन दिए ।

गृहमन्त्री थापाले समतामूलक समाज निर्माणमा प्रमुख बाधकका रुपमा अझै पनि समाजमा रहेका दलाल, पूँजीपति र सामन्तवर्गलाई पहिचान गरेर समृद्धिको बाटोबाट हटाउन आवश्यक रहेको बताए । प्रदेशस्तरीय कार्यक्रमका रुपमा आज प्रदेश ५ बाट शुरु भएको यो अभियान सातवटै प्रदेशमा शुरु गरिने गृह मन्त्रालयले जनाएको छ । -रासस