अछाम सरोकार मञ्च जापानद्वारा दुवै हात भाँच्चिएर उपचार गराइरहेका रावललाई आर्थिक सहयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८२, आईतवार
  •      Sun Apr 20 2025
Logo

अछाम सरोकार मञ्च जापानद्वारा दुवै हात भाँच्चिएर उपचार गराइरहेका रावललाई आर्थिक सहयोग



जापानमा दुवै हात भाँच्चिएर उपचार गराइरहेका एक नेपालीलाई अछाम सरोकार मञ्च जापानले आर्थिक सहयोग गरेको छ । गत अप्रिल महिनामा जापान गएका बझाङको छबिस पाथिभेरा गाउँपालिका १ बगडगाउँका दिपेन्द्र रावललाई मञ्चले २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

त्यहाँ रहेको एक स्कुलबाट फर्किने बेला साइकल दुर्घटना हुँदा दिपेन्द्रको दुवै हात भाँच्चिएको थियो । उनी त्यहाँ स्थित उरावा निहंगो गाक्को भाषा स्कुलमा अध्ययन गर्दैछन् ।

दिपेन्द्र जापान पुगेको धेरै भएको थिएन । भर्खरै मात्र काम थालेका उनको त्यही समय हात भाँच्चिएको खबर पाएपछि अछाम सरोकार मञ्चले दिपेन्द्रसँग सहयोगका लागि सम्पर्क गरेको थियो ।

अस्पतालमा चिकित्सकले सन्चो हुन अझैं एक महिना लाग्ने भनेपछि सरोकार मञ्चले टक्कर कुँवरको सल्लाह र राजेन्द्र बुढाथापाको संयोजकत्वमा आर्थिक सहयोग अभियान थालेको थियो । जसअनुरुप जापानमा बस्ने अछामका युवाहरुबाट २६ हजार रुपैयाँ संकलन भएको थियो ।

उक्त रकम मञ्चका सचिव राजेन्द्र बुढाथापाले उपचार गराइरहेका दिपेन्द्र रावललाई हस्तान्तरण गरेको मञ्चका अध्यक्ष लोकेन्द्र कुँवर ‘लोचन’ले जानकारी दिए । सानो रकम भएपनि दिपेन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष कुँवरले बताए ।