अछाममा गोली चल्यो, नेकपा र कांग्रेसबीच झडप, कार्यकर्ता घाइते
अछाम : अछामको मेल्लेख गाउँपालिका-५ मा गोली चलेको छ । नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको बताईएको छ ।
झडपमा परेर नेकपा निकट विद्यार्थी नेता गम्भीर साउद घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
मतदान कार्य सम्पन्न भएपछि झडप भएको बताइएको छ ।
झडपलाई नियन्त्रण गर्न प्रहरीले हवाईफायरसमेत गरेको छ। अहिले गणनास्थलमा आवतजावतमा समस्या भएको बताइएको छ।
मेल्लेख गाउँपालिका-५ विन्देबासिनिमा भएको उपनिर्वाचनमा १३५६ मत खसेको छ। जसमध्ये भवानि आधारभूत विद्यालय निर्वाचन केन्द्रमा ४७२ मत, जनता मावि ‘क’ केन्द्रमा ४६२ मत र जनता मावि ‘ख’ केन्द्रमा ४२२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
उक्त वडामा १ हजार ९ सय ४ मतादाता रहेका छन्। उक्त वडामा नेकपाबाट रमेश खड्का र कांग्रेसका वीरबहादुर बोहरा चुनावी प्रतिस्पर्धामा छन्। यसअघि कांग्रेसका रामबहादुर बोहरा निर्वाचित भएका थिए। उनको बडिमालिका जाने क्रममा लेक लागेर मृत्यु भएको थियो।