अविरल वर्षाकाे कारण भत्कियाे विद्यालय, पठन-पाठन अवरूद्ध
बैतडी । केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ ।
भवन भत्किँदा रु. दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । वर्षातले विद्यालय भवनको छत पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताए ।
भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्णरूपमा नष्ट भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ । उनले भने, ‘विद्यालय भवन भत्किँदा रु. दुई करोड बढीको क्षति भएको छ ।’
कक्षा बाह्रसम्म पढाइ हुने सो विद्यालयको आठ कोठे भवन भत्किएपछि पठनपाठनमा अवरोध पुगेको हो ।
विद्यालयको भवन भत्किएपछि विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताए ।
‘वर्षातको समय भएकाले चौरमा पढाउन समेत समस्या भएको छ’, प्रअ बोहराले भने ।
विद्यालयले भवन पुनःनिर्माणका लागि सरोकारवालासँग आग्रह गरेको छ । उक्त विद्यालयमा ४ सय २० बढी विद्यार्थी अध्ययनरत छन् ।रासस