अभिनेत्रीले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न ट्रम्पको माग - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अभिनेत्रीले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न ट्रम्पको माग



एजेन्सी । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलले संघीय न्यायाधीश समक्ष एडल्ट फिल्मकी अभिनेत्री स्टोर्मी ड्यानिअल्सले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न माग गरेका छन् । ट्रम्प पक्षले पहिले देखि नै उनको यस्तो हर्कतलाई केबल चर्चामा आउने उपाय बताउँदै आएको छ ।

२००६ मा ट्रम्पसँग शारीरिक सम्बन्ध राखेको दाबी गर्दै आएकी ड्यानिअल्सले यसबारेमा उनलाई शान्त रहन ट्रम्पका मान्छेहरुले थुप्रैपटक ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी हुन् ।

तर सोमबार लस एन्जलसको अदालतमा भने ट्रम्पका वकिलले ड्यानिअल्सलाई वास्तवमा कुनै हानी नपुगेको बरु उल्टै यसबाट प्राप्त ध्यानाकर्षणमार्फत उनले अधिक फाइदा उठाएको दाबी गरेका हुन् ।

उनका अनुसार यही घटनाका कारण अहिले क्लबहरुमा ड्यानिअल्सले पहिलेको भन्दा चार गुना बढी पारिश्रमिक लिने गरेकी छन् । अर्कोतर्फ ड्यानिअल्सका वकिलले भने बिना कुनै प्रमाण गरिएका यस्ता दाबी स्वीकार्य नहुने बताएका हुन् ।

ड्यानिअल्सका अनुसार २०११ को टच म्यागजिनमा उनले ट्रम्प र आफ्नो सम्बन्धबारे खुलासा गरेपछि नै उनलाई ट्रम्पलाई एक्लै छाड्न भन्दै ज्यान मार्ने धम्की दिइएको थियो । लस एन्जलसको पार्किङस्थलमा एक व्यक्ति आक्रामक शैलीमा आएर आफ्नी छोरीलाई हेर्दै ‘यति राम्री नानीको आमालाई केही भयो भने कति नराम्रो हुन्छ’ भन्दै धम्क्याएको उनले बताएकी हुन् ।

यसपछि ड्यानिअल्सले गत अप्रिल १७ मा नै धम्की दिने ती व्यक्तिको स्केच बनाउन लगाएकी थिइन् । तर उता ट्रम्पले भने ड्यानिअल्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गर्दै आएका छन् । यसैको भोलिपल्ट उनले उक्त स्केचमा देखाइएको मान्छे पनि यो संसारमै नभएको बताउँदै यसलाई फेक न्युज मिडियाले खेलेको धोकापूर्ण खेल भनि ट्वीट गरेका थिए । ड्यानिअल्सले भने उनको सो ट्वीट समेत मानहानीकारक भएको आरोप लगाउने गरेकी छन् । सोमबार भने ट्रम्पका वकिलले यो सबै केबल राष्ट्रपतिको छवि खराब गर्ने षड्यन्त्र भएकाले उनले स्पष्ट प्रमाण समेत प्रस्तुत गर्न नसक्दा मुद्दा यहीँ खारेज गरिनुपर्ने माग राखेका हुन् ।

केही समय अगाडि मात्र ट्रम्पका पहिले देखिका व्यक्तिगत वकिल माइकल कोहेन, संघीय निर्वाचन नियम विपरित ट्रम्पबारे हानिकारक जानकारी सार्वजानिक नगराउन ड्यानिअल्सलाई अवैध रुपमा १ लाख डलर भन्दा बढी रकम दिएको आरोपमा पक्राउ परेका थिए ।

उता ट्रम्पले भने कोहेनले पुलिसबाट बच्नका निम्ति आफैँले काल्पनिक कथा बनाएको भनि ट्वीट गरेका छन् । त्यसैगरी ह्वाइटहाउसले पनि यस विषयमा राष्ट्रपति कुनैपनि गलत कार्यमा संलग्न नरहेको प्रतिक्रिया दिँदै आएको छ ।