टिभी कार्यक्रममै कांग्रेस नेता बस्नेतले गरे एमाले नेता बडालमाथि अभद्र व्यवहार
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र नेकपा (एमाले) नेता केशब बडालबीच टिभी कार्यक्रममै झन्डै हात हालाहालको अवस्था बनेको छ । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा बहस गर्न आएका उनीहरू गालीगलौज सम्मको अवस्थामा पुगे।
नेताद्धय बस्नेत र बडालबीच चर्काचर्की भएको भिडियोमा ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेर प्रश्न गरेका थिए । धमलाको जिज्ञासा भुईँमा खस्न नपाउँदै नेता बस्नेतले जवाफ फर्काए-“काम गर्नुभएको छ भन्या, वाईडबडी किनेर ल्यायो ? ख्वाप्प । चार अर्बको हिसाबकिताब छैन् ।”
यस्तैमा एमाले नेता बडालले नेता बस्नेतलाई फटाहा कुरा गरिराखेको दाबी गर्छन् । तर, बस्नेत झनै आक्रामक रुपमा प्रस्तुत भए । उनले तुरुन्तै जवाफ फर्काए-“तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ । बढि कुरा गर्ने ? के शब्द प्रयोग गरेको ? सम्हालिएर बोल्नुहोस । फटाहा भन्ने ? त्यसो नभन्नुहोस ।”
उता, बडालले भने विनम्र भएर तपाईँले असत्य बोल्नुभएको छ भनेर जवाफ फर्काउँछन् । तर, बस्नेत झनै आक्रमक रुपमा प्रस्तुत हुँदै भन्छन्-“फटाहा किन भन्छस ? साले, डाका, देशद्रोही कम्युनिष्ट । फेरि बडाल बोल्न खोज्छन् । तर, बस्नेतले ‘चुप’ भन्दै कडा रुपमा आफूलाई प्रस्तुत गर्छन् ।