डा. गोविन्द केसीको अबको बाटो के ? - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

डा. गोविन्द केसीको अबको बाटो के ?



आजको नेपाल समाचारपत्रले विशेष सम्पादकीय छापेको छ ।

सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत् डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो ।

जनताका लागि निःशुल्क शिक्षा र स्वास्थ्य समाजवादको पहिलो प्राथमिकतामा पर्छ । संसारका प्रायः सबै समाजवादी मुलुकमा जनताले सबैभन्दा पहिले पाउने सुविधा भनेकै निःशुल्क शिक्षा र स्वास्थ्य सेवा हो । भर्खरै सम्पन्न चुनावमा घोषणापत्रमै समाजवादलाई प्राथमिकतामा राखेकै कारण पनि नेकपा पार्टीलाई दुई तिहाइ मत दिएर नेपाली जनताले सरकारमा विराजमान गराएकोे कुरालाई यो सरकारले बिर्सनुहुँदैन ।

जनताको भावनासँग गाँसिएका कुनै पनि शान्तिपूर्ण आन्दोलनलाई सरकारसँग भएको दुई तिहाइको दम्भ र घमण्डले मात्र पराजित गर्न नसकिने रहेछ भन्ने कुराको ठूलो उदाहरण बनेको छ डा। गोविन्द केसीको सत्याग्रह ।

डा. केसीले पनि अब के कुरामा हेक्का राख्नु जरुरी छ भने, पटक–पटकको अनशनबाट आफूलाई मात्र सास्ती नभई अनशनका कारण अस्पतालहरुमा सिर्जना भएको अवरोधले विगतमा झैँ धेरै बिरामीले अनाहकमा ज्यान गुमाउनुपर्ने हुन्छ ।

जतिसुकै राम्रो उद्देश्य भए पनि धारावाहिक टेली फिल्मजस्तै पटक–पटकको अनशनले एकातिर उहाँको विश्वसनीयता पनि क्रमशः घट्दै जाने सम्भावना हुन्छ भने अर्कोतिर सरकारले आरोप लगाएजस्तै उहाँ कुनै राजनीतिक पार्टीको गोटी भएको कुरालाई प्रमाणित गर्न सघाउ पु¥याउँछ ।