अब प्रतिनिधिसभामा अाकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

अब प्रतिनिधिसभामा अाकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी



काठमाडौँ (रासस) । व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको  छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ ।

उनले भने,– हामीले अन्तरराष्ट्रिय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रङ  प्रयोग भएको देख्छौँ । हामीले शान्तिको प्रतीक  निलो र राष्ट्रिय झण्डामा प्रयोग भएको  रातो रङ छनोट गरेका हौँ ।

संसद् सचिवालयले विश्वमा संघीयताको  उत्कृष्ट अभ्यास गरिरहेका अष्ट्रेलिया र युक्रेनजस्ता मुलुकले अवलम्बन गरेका संसदीय गतिविधिबारे अध्ययन/अवलोकन गरी त्यहाँका सकारात्मक पक्षलाई हामीले पनि केकस्तो ढंगबाट ग्रहण गर्न सकिन्छ भन्ने हेतुले केही दिन अघि उच्चतहका अधिकृतलाई ती मुलुकमा पठाएको थियो ।

अध्ययन टोलीले ती मुलुकका संसद्ले अनुसन्धान र पुस्तकालयलाई सर्वाधिक महत्व दिएका कारण धेरै विद्यार्थी र पर्यटकको पहिलो रोजाइको गन्तव्य  संसद् नै हुने गरेको  तथ्य फेला परेको थियो ।

व्यवस्थापिका–संसद् सचिवालयले संघीय संसद्लाई सांसद र प्रविधिमैत्री बनाउने सन्दर्भमा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।