कोरोना नियन्त्रणमा सहयोग नगर्ने निजी अस्पताललाई कारबाही र दर्ता खारेज - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कोरोना नियन्त्रणमा सहयोग नगर्ने निजी अस्पताललाई कारबाही र दर्ता खारेज



जनकपुरधाम– कोरोना महामारी नियन्त्रण गर्न असहयोग गर्ने निजी अस्पताल, स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुलाई प्रदेश २ सरकारले कारवाही तथा दर्ता खारेजको लागि संघिय सरकारमा पत्र लेखी पठाउने तथा कानुन वमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्यविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ।

समाजिक विकास मन्त्री नवल किशोर साहको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु समेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थाहरुसँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पतालहरुलाई संघीय सरकाले तोकेको दररेट उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने बैठकले निर्णय गरेको बताइएको छ ।

त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालहरुले कोरोना उपचारमा असहयोग गरे कारवाही तथा दर्ता खारेजको लागि संघिय सरकारमा पत्र लेखी पठाउने तथा कानुन वमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको अति दुखदायी तथा असहज परिस्थितमा सबै नागरिकलाई बचाउने पहिलो जिम्मेवारी भएकोले प्रदेश सरकार कठोरभन्दा कठोर कदम चाल्न बाध्य रहेको बताए। साथै उनले यस विषम परिस्थितिमा सबै पक्षलाई आ–आफनो स्तरबाट सहयोग गर्न अपील समेत गरे।

बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने निर्णयसमेत गरेको बताइएको छ।