राष्ट्र बैंकले भन्यो 'अब नयाँ नोट बन्द हुन्छन' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राष्ट्र बैंकले भन्यो ‘अब नयाँ नोट बन्द हुन्छन’



काठमाडौं । नेपाल राष्ट्र बैंकले अबको दुई वर्षपछि दशैंमा नयाँ नोट सटही कार्य बन्द गर्ने भएको छ । नयाँ नोटको सट्टामा सुकिला नोट बजारमा प्रचलनमा ल्याउने राष्ट्र बैंकको योजना छ । दशैंमा नयाँ नोटमा अबिर र विभिन्न रंग लगाएर नोट काम नलाग्ने अवस्थामा पुग्ने गरेको भन्दै राष्ट्र बैंकले दशैंमा नयाँ नोट निष्कासन बन्द गर्नेवारे वहस थालेको हो ।

नयाँ नोटको सट्टामा सुकिला नोट बजारमा प्रचलनमा ल्याउने राष्ट्र बैंकको योजना छ । दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन् । त्यसरी दक्षिणामा दिने भर्खरै छापिएका नोट अबिर र केसरीको रंग र तेल लागेर काम नलाग्ने बन्ने गरेका छन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन । त्यसको सट्टामा नयाँ नोट छापिन्छ । यसमा राष्ट्र बैंकको ठूलो लगानी लाग्छ ।

नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिने गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले दशैंमा सबैभन्दा बढी नोट मैलो र फोहोर हुने गरेको जनाएको छ । अन्य समयमा पनि मासु पसलेहरुबाट बढी नोट फोहोर हुने गरेको छ । यो वर्ष दशैंमा साना ठूला गरी ४० अर्बको नयाँ नोट बजारमा ल्याइएको छ ।

नयाँ नोटलाई दशैंमा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ ।