अब देशमा भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन :गृहमन्त्री थापा
काठमाडौं। गृहमन्त्री एवं माओवादीका वरिष्ठ नेता रामबहादुर थापाले अब देशमा भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद नचल्ने बताएका छन् ।
नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका हुन ।
गृहमन्त्री थापाले भने, ‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन।’ साथै उनले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने पनि बताए । त्यसैले अव आफ्नो सम्पूर्ण ध्यान भ्रष्टाचार उन्मुलनमा केन्द्रित हुने स्पष्ट पारे ।
गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताउनुभयो ।
मगर समुदायबाट गृहमन्त्री बनेका थापाले देश निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेको उल्लेख गरे ।
उनले भने, ‘राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ ।’
उनले मगर समुदायको अधिकार, विकास र समृद्धिका लागि सशक्त नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।
नेपाल मगर संघका सल्लाहकार बमकुमारी बुढामगरले खस आर्यपछिको ठूलो समुदायका रुपमा रहेको आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको बताइन। ‘१० वर्षे जनयुद्धको शुरुवात मगर बस्तीबाट भएको हो, त्यसैले मगर समुदायलाई वर्तमान सरकारले बेवास्ता गर्न मिल्दैन,’ उनले भनिन् ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले झण्डै १९ लाख जनसंख्या भएको मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने माग गरे ।
सम्मेलनमा पूर्वका मगर समुदायको हुर्रा नाच, पश्चिम मगर समुदायको कौरा, सोरठी, सालैजो नाच र मध्यपश्चिम तथा सुदूरपश्चिमका मगर समुदायको भूमिया नाच प्रस्तुत गरिएको थियो ।
त्यस्तै मगर समुदायबाट विभिन्न ओहोदामा पुगेका व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।