अब प्रहरीको टाउकोमा क्यामेरा - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

अब प्रहरीको टाउकोमा क्यामेरा



विर्तामोड- प्रहरीले टाउकोमा क्यामेरा राखेर हिँडेको देख्दा अचम्म लाग्नसक्छ। तर अब यो दृश्य झापाको विर्तामोडका लागि कुनै नयाँ भने होइन।

इलाका प्रहरी कार्यालय विर्तामोडले मोबाइल गस्तीमा खटिएका प्रहरीको हेल्मेटमा क्यामेरा जडान गर्न शुरु गरेको छ। अहिले एउटा मोटरसाइकलको हेल्मेटमा उक्त क्यामेरा जडान गरिएको छ।

प्रहरी गस्तीमा जाँदा वा कुनै समस्या समाधानका लागि जाँदा प्रहरीले दुर्व्यवहार गरेको भन्ने गुनासा आएका कारण प्रहरीकै टाउकोमा क्यामेरा जडान गर्न शुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

इप्रका विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाका अनुसार त्यस्ता क्यामेरा गस्तीका गाडीहरुमा जडान गरिनेछ। उनले भने, ‘अब हामी ठूलो मोबाइल गस्तीको गाडीमा जडान गर्दैछौं।’

मोटरसाइकल वा गाडीमा जडान गरेका क्यामेराले ति सवारी साधन जहाँ जहाँ पुग्छन् त्यहाँका भिडियो कैद गर्नेछ। भिडियो हेरेपछि कहाँ कस्को गल्ती छ भन्ने कुरा प्रष्ट हुने प्रनानि कोइरालाले बताए।

उनले भने, ‘कोही बेला प्रहरीले दुर्व्यवहार गर्यो भन्ने आरोप आउँछ। कोही बेला घटनास्थलको दृश्य नहुँदा अनुसन्धानमा अप्ठ्यारो पर्न जाने हुँदा त्यस्तो क्यामेराको प्रयोग गर्न थालिएको हो।’

उनले अहिले विर्तामोड क्षेत्रमा २५ वटा सिसिटिभी क्यामेराले काम गरिरहेको बताए। अब छिट्टै उक्त क्यामेराको संख्या बढाएर ६० वटा पुर्याउने उनको भनाई छ।देश सञ्चारको सहयोगमा