आयुर्वेद विज्ञलाई बालुवाटारमै बोलाएर ओली र प्रचण्डले गरे तीन घण्टा छलफल
काठमाडौं- कोरोनाभाइरस रोकथाम र नियन्त्रणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेद चिकित्सा विज्ञसंग छलफल गरेका छन् ।
आयुर्वेद चिकित्सा विज्ञहरूलाई बिहिबार बालुवाटारमा बोलाएर आयुर्वेद चिकित्साको महत्त्वका विषयमा छलफल भएको एक सहभागी आयुर्वेद चिकित्सकले बताए ।
प्रधानमन्त्री ओली र अध्यक्ष ‘प्रचण्ड’ले विज्ञसँग छलफल गर्दै निरोगी नेपाल अभियानमा आयुर्वेदको महत्वका बारेमा छलफल गरेको बताइएको छ । नेपालको मौलिक चिकित्सा प्रणालीको रुपमा रहेको आयुर्वेदका विषयमा लामो छलफल भएको बताइएको छ ।
‘कोभिड-१९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञसँग बालुवाटारमा विशेष छलफल भएको हो । छलफलका क्रममा आयुर्वेदभित्रै योगा पनि पर्ने धारणा प्रधानमन्त्रीले राखेका छन्। ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो’, प्रधानमन्त्री ओलीले भने।
उनले मेसिन एलोपेथिक नभएको प्रष्ट पार्दे आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्नेमा जोड दिए। ओलीले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेकोसमेत सम्झना गरेका छन्।
निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराएका छन्। छलफलमा सहभागी पार्टीका अर्का अध्यक्ष प्रचण्डले आयुर्वेदको महत्वले थप घचघच्याएको बताए।
दुवै अध्यक्षले विज्ञसँग तीन घण्टा सुझाव लिएका हुन्। छलफलमा प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका काम र उपयोगी घरेलु विधिको संचारमाध्यमबाट प्रचारप्रसार हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँगको छलफलमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा.ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा.डा. डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा. धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राखेका थिए।