निर्वाचन आयोग जाने नेपाल समूहको तयारी: राष्ट्रपतिको निर्णय कुर्दै - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

निर्वाचन आयोग जाने नेपाल समूहको तयारी: राष्ट्रपतिको निर्णय कुर्दै



काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी गठन गर्ने सम्पूर्ण तयारी गरेको बुझिएको छ । उनीहरूले आवस्यक प्रक्रिया पुरा गर्न राष्ट्रपति कार्यालयले अध्यादेश जारी गर्ने समय मात्र कुरेको बताइएको छ ।

मन्त्रिपरिषद बैठकले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै यसले प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र तरंग पैदा गरेको छ। एमालेभित्र आन्तरिक विवाद चुलिएका बेला सरकारले दल विभाजन गर्न सक्ने गरी खुकुलो व्यवस्थासहित अध्यादेश ल्याएको हो।

नेपाल समुहले सबै प्रक्रिया सकेको र अब कानुनी पातोमात्रै बाँकी रहेको बताएको छ । उक्त समूहका नेता मेटमणि चौधरीले राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोग जाने भनेर बसेको बताएका छन् । ‘राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोग जाने भनेर हामी तयारी गरेर बसेका छौं,’ उनले भने।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने अध्यादेशअनुसार नयाँ पार्टी बनाउन आफ्ना सांसदहरू र केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन्। नेता नेपाल अध्यादेशअनुसार अब नयाँ पार्टी गठनका लागि अगाडि बढेको चर्चा भइरहेका छन्। पार्टी विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा २० प्रतिशत संख्या पुर्‍याउनु पर्ने हुन्छ।

प्रतिनिधि सभामा नेकपा एमालेका १२१ जना सांसद छन्। त्यस्तै राष्ट्रिय सभामा ३४ जना सांसद छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी एमाले संसदीय दलमा एक सय ५५ जना सांसद छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी एमालेका कूल सांसद १५५ जना छन्। अध्यादेशअनुसार यसको २० प्रतिशत भनेको ३१ जना सांसद हुन्छन्। नेता नेपाल पक्षले आफ्नो पक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३४ जना सांसद रहेको दाबी छ। यसो हो भने नेपाल पक्षले संसदीय दलको २० प्रतिशत पुर्‍याउँछ। तर उनको पक्षमा ३० जना सांसद रहन्छन् कि रहँदैनन् भन्ने प्रश्न पनि छ।

नेकपा एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी छ। ओली पक्षले आजै निर्वाचन आयोगमा दुई सय ६० सदस्यीय केन्द्रीय कमिटी हुने गरी विवरण अद्यावधिक गर्न निवेदन दिएको भन्ने विवरणहरू पनि आइरहेका छन्।

नेता नेपाल पक्षका सांसद विरोध खतिवडाले पत्रकारहरूसँग कुराकानी गर्दै ‘ओली गुटले जालझेल गरेर निर्वाचन आयोगमा २६० सदस्यीय केन्द्रीय कमिटीको विवरण बुझाएको’ दाबी गरेका छन्।

२६० सदस्यीय केन्द्रीय समिति बन्यो भने अध्यादेशअनुसार नेपालले संख्या पुर्‍याउन ५२ जना केन्द्रीय सदस्य चाहिन्छ। तर २०३ सदस्यीय केन्द्रीय कमिटी भयो भने ४१ जना केन्द्रीय सदस्य भएमात्रै पुग्छ।

यसअघि गत साउन २२ गते बानेश्वरमा नेता नेपाल पक्षले गरेको केन्द्रीय कमिटी बैठकमा ८० जना केन्द्रीय सदस्य उपस्थित भएको दाबी नेपाल पक्षको थियो। तीमध्ये पछिल्लो समय २२ जना केन्द्रीय सदस्यहरू पार्टी फुटाउन नहुने पक्षमा उभिएको नेता नेपाल पक्षका एक नेताले बताए।

नेपाल पक्षमा अझै ५८ जना केन्द्रीय सदस्य बाँकी रहन्छन्। नेता नेपाल पक्षको केन्द्रीय समितिमा उपस्थित ८० मध्ये २२ जना आएनन् भने पनि नेता नेपालका पक्षमा अध्यादेशअनुसार ५२ जना चाहिनेमा त्यसभन्दा बढी ५८ जना केन्द्रीय सदस्य हुने देखिन्छ।