माओवादी केन्द्र खारेज गर्न बालुवाटारको समर्थन: निर्वाचन आयोगलाई दवाव
काठमाडौं- पदका लागि माओवादी केन्द्र छोडेर एमालेमा गएका नेताहरूले माओवादी पार्टी खारेज गर्न निर्वाचन आयोगलाई दवाव दिएका छन् । पछिल्लो समय एमालेमै पनि हेपिन थालेपछि उनीहरू माओवादीमै फर्किन खोजेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई वास्तै नगरेपछि माओवादी केन्द्र नै खारेज गर्नुपर्ने मुद्दा लिएर उनीहरू निर्वाचन आयोग धाउन थालेका छन् ।
एमालेमा बादलको नेतृत्वमा रहेका नेताहरुले निर्वाचन आयोगमा पुगेर माओवादी पार्टी खारेजीका लागे लगातार दवाव दिन थालेका छन् । शुक्रबार पनि उनीहरू बिहानै निर्वाचन आयोग पुगेर उनीहरूले निर्वाचन आयुक्तलाई दवाव दिएका छन् ।
उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेर निर्वाचन आयोगमा निवेदन दर्ता यसअघि नै गराइसकेका छन् । उनीहरूले बुधबार अधिवक्ता सरोज बुढाथोकीमार्फत माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।
माओवादी खारेजीको लागि दवाव दिन टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी शुक्रबार आयोग गएका थिए । निवदेनबारे आयोगमा छलफल गरेको नेता चौधरीले पुष्टि गरेका छन्।
निर्वाचन आयोगमा पुगेका नेताहरूले निर्वाचन आयोगलाई प्रचण्डको प्रभावमा नपर्न र जसरी पनि माओवादी केन्द्र खारेज गर्न दवाव दिएको स्रोतको दाबी छ । उनीहरूले माओवादी खारेज गर्न बालुवाटारको पनि समर्थन रहेको आयोगलाई बताएको स्रोतको दाबी छ । ‘उनीहरूको प्रस्तुति अनुसार बालुवाटारमै यो डिजाइन बनेको संकेत थियो’ निर्वाचन आयोग स्रोतले बतायो ।
उनीहरूले माओवादी केन्द्रका विभिन्न प्रमाण पनि आफूहरूसँग रहेको समेत बताएका थिए ।
माओवादी दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि माओवादीले उनीहरूको सांसद पद खारेज गरेको थियो । त्यसपछि उनीहरू माओवादी पार्टी र आफूहरूलाई गरेको कारबाही अवैध भएको भन्दै आयोग गएका थिए ।