निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले दिए चेतावनी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । उनले निर्वाचन नगराउने षड्यन्त्र नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका हुन् । निर्वाचनको तयारी नगरेको भन्दै आयोगलाई यस्तो चेतावन दिएका थिए ।
ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताए । ‘केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्’, उनले भने, ‘लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।’ एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गरे ।
उनले निर्वाचनको तयारी नगरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले चुनावका कार्यक्रम प्रकाशित नभएको भन्दै असन्तुष्टी जनाएका हुन् ।
‘चुनाव गर्नुपर्ने निकायले चुनावको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावको तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन’, उनले भने, ‘नागरिकलाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । नागरिकले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै चुनाव गर्ने गरी, यहाँ कतिपय तत्त्वहरूले घोषणा गरेको चुनाव गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् तर चुनाव तोकिएकै मितिमा गर्नका लागि मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्न म चाहान्छु ।’
निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गरे । लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उनको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उनले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पारे । ‘मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ’, प्रधानमन्त्री ओलीले भने । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उनले आपत्ति प्रकट गरे ।
उनले विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी रहेको उल्लेख गरे । ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उनले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताए । बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उनले उल्लेख गरे ।
विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताए । ‘२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन्’, उनले भने । विसं २००७ अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको सो अवसरमा उनले स्मरण गरे । ‘परिवर्तनका लागि कवि र लेखकहरुले जागरण अभियान चलाएका हुन्’, उनले भने, ‘बुद्धिजीवीहरु अलमलिए पनि जनता अलमलिँदैनन् । वुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।’