उठ्यो प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न आवाज - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

उठ्यो प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न आवाज



काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ।

टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सोमबार प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको जनाएकी छन्। विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग सम्बन्धित विवादका कारण उत्पन्न परिस्थितिले न्याय सम्पादनमा गम्भीर अवरोध सिर्जना भएको र न्यायपालिकाको आस्थामाथि नै प्रश्नचिह्न खडा भएको समाचारतर्फ यस संस्थाको ध्यानाकर्षण भएको छ।”

टीआईले न्यायपालिकामा हुने विकृति र विसङ्गतिबारे विभिन्न समयमा सर्वोच्च अदालत र नेपाल बारबाट पेश भएका अध्ययन प्रतिवेदनले ढिलो कार्य सम्पादन, प्रभावित निर्णय, पदीय दुरुपयोग, बिचौलियाको प्रयोग र भ्रष्टाचार जस्ता समस्या रहेको तथ्य उजागर गरेको उल्लेख गर्दै यसको सुधारका लागि कार्यान्वयन गर्नुपर्ने जनाएको छ।

यससँगै प्रधानन्यायाधीशले कार्यपालिकाको नियुक्तिमा भागबण्डा लिएको, न्यायाधीशहरूले विरोधस्वरूप बेन्च बहिष्कार गरेको, नेपाल बारबाट प्रधानन्यायाधीशको राजीनामा माग भएको जस्ता समाचार प्रकाशित हुनु गम्भीर विषय भएको टीआईले औंल्याएको छ।

यी सबै विषयमाथि छानबिन गरी कारबाही गर्न टीआईले माग गरेको छ। “यस्ता विषयहरू उपर आवश्यक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही हुनुपर्दछ भन्ने धारणा यस संस्थाको रहेको छ। यस कार्यलाई सहज बनाउन सर्वप्रथम न्याय सम्पादन सम्बन्धित व्यक्तिहरूको सम्पत्ति जाँच गरिनुपर्दछ,” विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, टीआईले न्याय प्रवाहमा अवरोध हुन नदिन र सर्वोच्च अदालतमा देखिएको विवाद यथाशीघ्र समाधान गर्न अपील गरेको छ।