एकै जिल्लामा २५८ जनाले गरे आत्महत्या

कपिलबस्तु। विश्व आत्महत्या रोकथाम दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइरहेका बेला कपिलबस्तुमा आत्महत्या रोकथाम चुनौतीको रूपमा देखा परेको छ ।
प्रहरीको तथ्यांकअनुसार विगत ४ वर्षमा जिल्लामा २५८ जनाले आत्महत्या गरेका छन् । २०७२ साल साउनदेखि हालसम्म २५८ जनाले आत्महत्या गरेका हुन् ।
कपिलबस्तुमा आत्महत्याको अवस्था डरलाग्दो भएकोले यसको न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रमको सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी रहेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । आत्महत्याको घटना कम गर्न प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गतबर्ष मात्रै कपिलबस्तुमा १०१ जनाले आत्महत्या गरेका थिए । कपिलबस्तुमा सबैभन्दा बढी झुण्डिएर र बिष सेवन गरेर आत्महत्या भएको प्रहरीले बताएको छ ।

