८ जना सहमहामन्त्री मध्ये ३ को मतगणना हुँदै, अरूको भोलि
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सभापति, उपसभापति र महामन्त्रीको मतगणनापछि सहमहामन्त्री पदको मतगणना शुरु गर्ने तयारी गरिएको छ।
कांग्रेसको निर्वाचन समितिले आजै सहमहामन्त्री पदको मतगणना गर्ने तयारी गरेको हो।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महिला, दलित र आदिवासी जनजाति क्लस्टरका सहमहामन्त्री पदको मतगणना शुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
बाँकी ५ सहमहामन्त्री पदका उम्मेदवारको मतगणना भोलि हुने उनले बताए।
८ जना सहमहामन्त्रीका लागि १९ जनाले प्रतिस्पर्धा गरेका छन्।
यसअघिको मतपरिणाम अनुसार महाममन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएकोमा १४ औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन्।