प्रधानमन्त्रीको भारत भ्रमणअघि आरजु किन पुगिन् सुटुक्क दिल्ली ?
काठमाडौं- पार्टी र सरकारको काममा बढी सक्रियता देखाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई नै विवादमा तानेको आरोप लागेको बेला प्रधानमन्त्री देउवाको भ्रमण अगाडी उनकी पत्नी आरजु राणा देउवा सुटुक्क भारत पुगेकी छन् ।
प्रधानमन्त्री देउवाले भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु आइतबार सुटुक्क नयाँ दिल्ली पुगेको खुलेको छ । राणा आइतबार बिहान ११: ४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उत्रिएकी हुन्।
प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रमका लागि तयारी गरिरहेका छन् ।
पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन्। उक्त भ्रमणको गृहकार्य भने भइरहेको छ। तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने यही साता भ्रमण कार्यक्रमको टुंगो लाग्ने बताए।
देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। पछिल्लोपटक प्रधानमन्त्री बनेयता देउवा पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए।
उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागिता जनाएका थिए। स्कटल्याण्ड भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेट गरेका थिए। भेटमा दुई प्रधानमन्त्रीबीच भ्रमण आदान प्रदान गर्ने सहमति भएको थियो।
प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको लागि सुटुक्क दिल्ली पुगेको चर्चा कांग्रेसभित्र चलिरहेको छ । यसबारे कांग्रेसका केहि नेताहरूले आपत्ति समेत जनाउन थालेका छन् ।
भर्खरै महाधिवेशन सकेको कांग्रेसभित्रै आरजुको कार्यशैलीलाई लिएर कुरा उठ्ने गरेको छ । उनले प्रधानमन्त्री देउवा र अन्य मन्त्रीहरूलाई अनावस्यक दवाव सृजना गरेको आरोप नेताहरूले लगाउने गरेका छन् ।
यसबारे बुझ्न खोज्दा देउवा निकट एक नेताले भने आरजु भाइको उपचारको सिलसिलामा दिल्ली पुगेको बताए ।