पशुपतिको आरतीकाण्ड: नेकपा बैठकमै चर्काचर्की, भट्ट काण्ड दोहोरिने डर - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पशुपतिको आरतीकाण्ड: नेकपा बैठकमै चर्काचर्की, भट्ट काण्ड दोहोरिने डर



काठमाडौँ– पशुपतिमा गङ्गा आरती गर्नु पूर्व राष्ट्रगान बजाउनु पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आदेशले नेकपा भित्र ठुलै खैलाबैला मच्चिएको छ। मन्त्री भट्टराईको आदेशको आलोचना र विरोध भइरहेको समयमा कतै यसले अर्कै रूप लिने त होइन भन्ने शङ्का उत्पन्न गरेको छ।

नेकपा भित्रै यसको चर्को आलोचना भइरहेको छ। केही नेताहरूले यस्ता विवादित विषयले सरकारकै बदनाम गर्ने भन्दै आलोचना गरेका छन्। कतिले योगेश भट्टराई जस्तो नेताले हचुवाको तालमा यस्ता निर्णय गर्दा उनको राजनीतिलाई नै असर पर्ने सम्मको टिप्पणी गरेका छन्।

पाशुपत क्षेत्र र हिन्दु धर्मका जानकारहरूबाट पनि यसको चर्को विरोध गर्दै आइरहेका छन्। राष्ट्रगानको मर्यादा र गरिमा घट्नेगरी आएको यस्तो योजना धार्मिक सहिष्णुता भाँड्ने उद्देश्यले ल्याइएको समेत बताइएको छ।

नेकपा सचिवालय बैठकमै चर्काचर्की

चौतर्फी विरोध र आलोचनापछि यो विषयले नेकपा सचिवालय बैठकमा प्रवेश गरेको छ। बुधवार बसेको सचिवालय बैठकमा यसले ठुलो रूप लिएपछि नेताहरू पन्छिन बाध्य भएका थिए। बैठकमा गङ्गा आरतीको आरम्भमा राष्ट्रगान गाउने विषयले ठुलो रूप लिन सक्ने भन्दै यसलाई छिट्टै समाधान गर्नुपर्ने आवाज उठेको नेकपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार, एक नेताले आरती काण्डले पशुपतिको भट्ट काण्ड जस्तै रूप लिन सक्ने भन्दै सचेत गराएका थिए। यसरी धेरैले प्रश्न उठाउन थालेपछि नेतृत्वले आलटाल गरेर तारेको पनि स्रोतले जनाएको छ।

यसरी आवाज चर्किन थालेपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले यसको जस र अपजस सबै मन्त्री योगेशले बेहोर्नुपर्ने सङ्केत गरेका थिए।

तर गज्जबको कुरा त के भने प्रधानमन्त्री ओलीले आफूलाई यो विषयमा जानकारी नै नभएको प्रतिक्रिया दिएका थिए। स्रोतका अनुसार केन्द्रीय सचिवालय बैठकमा त्यसबारे उठेको प्रश्नको जवाफमा ओलीले पर्यटनमन्त्री भट्टराईको निर्णयमा आफ्नो कुनै भूमिका नरहेको र त्यसबारे अनभिज्ञ रहेको भन्दै विवादित निर्णयको स्वामित्व पर्यटन मन्त्री भट्टराई स्वयंले लिनुपर्ने सङ्केत गरेका छन्।

विवादास्पद निर्णयले सरकारलाई धक्का

बैठकमा पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले पनि यसबारे गम्भीर प्रश्न गरेका थिए, उनले पारि शव जलाइरहेका बेला पीडामा छट्पटाइरहेकाहरु गङ्गा आरतीको प्रारम्भमा राष्ट्रिय गान बजाएपछि उठ्न मिल्छ? भन्दै प्रश्न गरेका थिए। उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै यस्ता विवादास्पद निर्णयले सरकारलाई धक्का पुग्छ भन्नेबारे मन्त्रीले सोच्नु पर्ने बताएका थिए ।

प्रवक्ता श्रेष्ठले आफूले पर्यटनमन्त्री भट्टराईलाई भेटेर यसबारे जानकारी गराएपनि भट्टराईले यसलाई गम्भीर रूपमा नलिएको आरोप समेत बैठकमै लगाउँदै गम्भीर आपत्ति जनाएका थिए। श्रेष्ठको भनाइप्रति प्रधानमन्त्री बाहेक सबैले समर्थन गरेपछि ओलीले पनि आलटाले जवाफ दिएको स्रोतले जानकारी दिएको छ।